फेसबुकले परिवर्तन गर्‍यो कम्पनीको नाम, थाहा पाउनु पर्ने तथ्य

काठमाडौँ — फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकर बर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन् । सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन् । कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन् ।

फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ । फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा पनि आफ्नो काम विस्तार गर्ने जनाएको छ। जसका लागि नयाँ नाम चाहिएको पनि उसले जनाएको छ । फेसबुकले केही समय अगाडि मात्रै भर्चुअल रियालिटीका क्षेत्रमा काम गर्ने गरी विकास गर्न लागेको ‘मेटाभर्स’ प्रोजेक्टका लागि युरोपमा १० हजार कर्मचारी नियुक्तिको तयारी गरेको घोषणा गरेको थियो ।

मेटाभर्सलाई ‘इन्टरनेटको भविष्य’ भनेर चर्चा गरिएको छ । कतिपयले यसलाई भर्चुअल रियालिटीकै परिष्कृत रूप पनि भनेका छन् । जसरी सन् १९८० को दशकमा ठूला–ठूला मोबाइल सेटलाई अहिले स्मार्टफोनले विस्थापित गर्‍यो, त्यसरी नै भर्चुअल रियालिटीलाई मेटाभर्सले विस्थापित गर्ने बताइएको छ । बीबीसीका अनुसार सबै प्रकारको डिजिटल प्रविधिलाई मेटाभर्सले जोड्ने काम गर्छ ।

त्यसका लागि अहिले कम्प्युटरको प्रयोग भए पनि मेटाभर्समा भने टाउकोमा लगाउने एउटा उपकरण(हेडसेट) प्रयोग गरिनेछ। अहिले भर्चुअल रियालिटी प्राय: गरेर गेम खेल्नका लागि प्रयोग हुने भए पनि मेटाभर्समा भने खेल, कार्यक्रम आयोजना, चलचित्र हेर्न वा गफगाफका लागि समेत सहज हुने बताइएको छ । मेटाभर्स अहिले एउटा सोच भएकाले ठ्याक्कै यही हो भनेर परिभाषित गर्न कठिन हुने पनि प्रविधि विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस