उमेर १७ पुग्दा उचाई ७१ सेमी, विश्वका जीवित हाेचामा तेस्राे हुन सक्ने

सिन्धुलीको गोलन्जोर गाँउपालिका– ४ निवासी १७ बर्षिय डोरबहादुर खपाङी विश्वकै होचोमध्येका एकजना होचो व्यक्ति भएको दावी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीकाअनुसार खपाङीलाई नागरिकता प्रमाणपत्र दिनेक्रममा उचाई ७१ सेन्टिमिटर र तौल १३ केजी पाइएको छ । खपाङीलाई उक्त कार्यालयले बुधबार बंशजको नागरिकता प्रदान गरेको छ । उहाँको नागरिकता प्रमाणपत्रमा जन्ममिति २०६१ कात्तिक २९ गते उल्लेख छ ।

दाजुको सनाखत, वडा अध्यक्षको सिफारिस र उमेर खुलाइएको मेडिकल रिपोर्टका आधारमा खपाङीलाई नागरिकता प्रमाणपत्र जारी गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयको नागरिकता फाँटका नायबसुब्बा रबिन्द्र गौतमले भन्नुभयो, ‘पाँच दिनअघि दाजु नरबहादुर खपाङीले डोरबहादुरलाई बोकेर नागरिकता बनाउन ल्याउनुभएको थियो । हामीलाई शङका लागेर उमेर एकिन गरी पठाई दिनु भनी स्वास्थ्य परिक्षण गर्न सिन्धुली अस्पतालमा पठायौं ।’

अस्पतालले दाँत, हड्डी र जनरल फिजिसियन बिषय विज्ञबाट तीन दिन लगाएर स्वास्थ्य परिक्षण गरी उमेर १५ देखि १७ बर्षको बीचको, उचाई ७१ सेन्टिमिटर र तौल १३ केजी भएको प्रतिवेदन दिएपछि खपाङी अहिले विश्वकै होचो व्यक्तिको सूचीमा पर्न सक्ने अनुमान लगाइएको उहाँको भनाई छ । नायब सुब्बा गौतमकाअनुसार विश्वकै जीवित होचो व्यक्तिको रुपमा अहिले कोलम्बियाका एडवार्ड निनो हेर्नन्डोजको रेकर्ड छ । उहाँको उचाई ७० दशमलब १ सेन्टिमिटर रहेको छ ।

विकिपिडियाअनुसार जीवित होचामध्ये टाइवानको लिन यू चिनको ६७ दशमलव ५ सेन्टिमिटर उचाई देखाइएको छ । सोअनुसार सिन्धुलीका खपाङी होचोमा तेस्रो स्थानमा पर्ने जीवित पुरुष हुनुभएको छ ।

गिनिज बुकका लागि सूचना सङकलन गर्ने काम गर्दै आउनुभएका कन्सल्ट्यान्ट थानेश्वर गुरागाई पनि सिन्धुलीका खपाङी विश्वकै होचो व्यक्तिमध्ये पर्ने बताउनुभयो ।

‘डोरबहादुरको उचाई कसरी नपिएको हो, सुताएर हो की उभ्याएर’ उहाँले भन्नुभयो, ‘यस बिषयमा थप बुभ्mनुपर्ने हुन्छ । उचाई महत्वपूर्ण छ, त्यो पनि १८ बर्ष मुनीको ।’ यसअघि विश्वमा जीवित होचो व्यक्तिका रुपमा दाङका चन्द्रबहादुर डाङ्गीको उचाई २१ दशमलब ५ सेन्टिमिटर थियो । उहाँको निधन भइसकेको छ । source-supremekhabar

प्रतिक्रिया दिनुहोस