बहिनीलाई बिएससी नर्सिङ पढाउने पठाओ राइडर सुनिलको सपना खोस्यो टिपरले..

काठमाडौ । आफ्नै हातले पकाएको खाना खाएर निस्किएका दाजु बितेको त्यो अकल्पनीय खबर बहिनीका लागि आफैंमा पीडादायी थियो। साथमा त्यो घटनाले उनको बिएससी नर्सिङ पढ्ने सपना पनि भताभुंग पारिदिएको छ। बहिनीलाई नर्सिङ पढाउने चाहना निम्ति संघर्ष गरिरहेका सुनिलका पाइला एकै रातमा रोकिए, सधैंका लागि।

अब छोरी एक्लै काठमाडौं बसेर पढ्लिन् वा नपढ्लिन् भन्नेबारे अहिले नै सोच्ने र भन्ने अवस्थामा छैनन् प्रेमचन्द्र। प्रहरीका अनुसार त्यस रात सुनिल पछाडि यात्रु लिएर ललितपुर, टिकाथली हिँडेका थिए। सवा १० बजे सिनामंगल चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएको खबर गौशाखा वृत्तमा पुगेको थियो।

वाकीटकीमै घटनाको सूचना पछ्याउँदै वृत्तको एयरपोर्टस्थित सिआरभी भ्यान सिनामंगल चोक पुग्यो। त्यहाँ सुनिल र उनीसँग रहेका यात्रु रामेछाप, दोरम्बा घर भई ललितपुर, टिकाथली बस्ने ३० वर्षीय अमर पहारी ढलिरहेका थिए।

मोटरसाइकल, चालक र यात्रु तीनतिर थिए, टिपर गायब।

सुनिल अत्यन्त गम्भीर थिए भने पहारी छटपटाइरहेका थिए। दुवैलाई उठाएर प्रहरीले काठमाडौं मेडिकल कलेजको सिनामंगलमै रहेको अस्पताल पुर्‍याए।‘बिहीबार बिहानै सुनिलको उपचार क्रममा मृत्यु भयो,’ वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले भने, ‘घाइतेको उपचार भइरहेको छ, उहाँको खुट्टा भाँचिएको छ।’

भट्टराईका अनुसार टिपर कोटेश्वरतर्फ गइरहेको थियो। त्यही दिशामा गइरहेको मोटरसाइकललाई टिपरले ओभरटेक गरेको थियो। ‘ओभरटेक गर्ने क्रममा टिपरको पछाडिको भागले मोटरसाइकललाई ठक्कर दिएको देखिएको छ,’ भट्टराईले भने, ‘ठाउँ साँघुरो भएकाले हो वा पेल्दै लगेर ठक्कर दिएको हो, हामी अनुसन्धान गरिरहेका छौं।’

ठक्कर दिएपछि टिपर चालक रोकिएनन्। बा४ख ८७२५ नम्बरको टिपर हुँइक्याएर चालक कोटेश्वर पुगिसकेका थिए। ‘कोटेश्वरबाट टिपर समातेर ल्यायौं, चालकलाई नियन्त्रणमा राखेर सवारी ज्यानअन्तर्गतको मुद्दामा अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

आफ्नो सपना पूरा गर्न रातदिन काम गरिरहेका सुनिल बितेको खबरले बहिनी सम्हालिन सकेकी छैनन्। एक्लो छोरा बितेको खबरले उनकी आमा अर्धबेहोसी अवस्थामा छिन्।अविवाहित जवान दाजुको मृत्युको खबर बहिनी आफैंले घरमा पुर्‍याएकी थिइन्। त्यसपछि बाबु प्रेमचन्द्र बिहीबार बिहानै श्रीमतीलाई लिएर पर्साबाट गाडी चढेका थिए।

‘साँझ ५ बजे आइपुगेका थियौं, त्यसपछि अस्पताल गयौं,’ प्रेमचन्द्रले भने। उनका अनुसार सुनिल र छोरी दसैंमा घर गएका थिएनन्। दाजु-बहिनीले तिहारमा घर गएर भाइटीका मनाउने योजना बनाएका थिए। ‘१७ गते आइपुग्छौं भनेका थिए,’ प्रेमचन्द्रले भने।

प्रतिक्रिया दिनुहोस