सम्पत्तिको लागि २ वर्ष लडे, डिभोर्स हुँदासम्म ९ करोडको सम्पत्ति सकियो २ करोड ऋण लाग्यो

काठमाडौं। वैवाहिक जीवनमा यो जोडी निकै खुसी थियो । उनहिरुका तीन सन्तान थिए र उनीहरुको जीवन खुसीसाथ चलिरहेको थियो । तर, बिहेको २२ वर्षपछि श्रीमान श्रीमतीबीच मनमुटाव भयो । विवाद यतिसम्म बढ्यो कि उनीहरु सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगे । दम्पती अदालत पुगे । सम्बन्धविच्छेदका क्रममा दुवैले सम्पत्तिको अधिक हिस्सा आफूले पाउनुपर्ने दावी गरेपछि सम्बन्धविच्छेदको प्रक्रिया लम्बियो ।

अदालतमा मुद्दा चलिरह्यो । दुवैले आफूले सम्पत्तिको अधिक हिस्सा पाउनुपर्ने भन्दै विभिन्न तर्क गरिरहे । मुद्दा २ वर्षसम्म लम्बियो । यस क्रममा वकिलको पािरश्रमिक तिर्ने क्रममा उनीहरुको घर बिक्यो । सबै सम्पत्ति वकिलहरुको पारिश्रमिकमा खर्च भयो । क्रेडिट कार्डको ऋण तिर्न अझै बाँकी छ । शुक्रबार यी दुईको सम्बन्धविच्छेद भयो । करोडौंको सम्पत्तिका मालिक यी दम्पतीको मुद्दामा शुक्रबार अन्तिम फैसला आउँदा दुवैले बराबर जनही साढे ७ लाख रुपैयाँ मात्र पाए । उनीहरुसँग यत्ति मात्र सम्पत्ति बाँकी थियो ।

डेलीमेलको समाचार अनुसार यो घटना बेलायतको राजधानी लण्डनको हो । यी श्रीमान श्रीमतीको पहिचान सार्वजनिक गरिएको छैन । ५३ वर्षका श्रीमान र ५० वर्षकी श्रीमती एक केयर होमका मालिक थिए । उनीहरुको पाँच बेडरुमसहितको घर थियो । छोराछोरीहरुसँग विदा मनाउन बाहिर गइरहन्थे । छोराछोरीको राम्रो पढाइको लागि ठूलै रकम खर्च गरिरहेका थिए । दम्पतीसँग व्यक्तिगत नम्बर प्लेट भएको १४ हजार पाउण्ड (२१ लाख नेपाली रुपैयाँ) पर्ने मर्सिडिज गाडी पनि थियो ।

दम्पत्ति छुट्टिएपछि केयर होम बन्द भयो । श्रीमान बेरोजगार भए । उनले प्लम्बिङ कम्पनीमा जागिर गर्न थाले जहाँ उनले वार्षिक करिब ३२ हजार पाउण्ड कमाउँछन् । मुद्दा चलिरहँदा उनको सम्पत्ति त सकियो नै डेबिट कार्डबाट १ लाख २२ हजार पाउण्ड (झण्डै २ करोड रुपैयाँ) ऋण पनि थपियो । दम्पतीको ६ लाख पाउण्ड (९ करोड नेपाली रुपैयाँ) वकिलको पारिश्रमिकमा खर्च भयो ।

अदालतमा कूल १३ सुनुवाइ भए । पाँच दिन ट्रायल पनि चल्यो । श्रीमानले ४ पटक अपिल कोर्ट र हाइकोर्टमा अर्जी दिएका थिए तर सबै अर्जी खारेज भए । हाइकोर्टका न्यायाधीश रोबर्ट पीलले भनेका थिए कि घर बेचेर ६ लाख ३० हजार पाउण्ड प्राप्त भएको थियो । तर, वकिलको पारिश्रमिकको खर्चपछि भाडाको घरमा बसिरहेका पतिले ऋण पनि तिर्नुपर्ने छ । न्यायाधीशले यो संसाधनको कति ठूलो बर्बादी हो भन्ने व्यक्त गर्न पनि कठिन भएको बताए । न्यायाधीशले महंगो न्यायिक खर्चमा पनि प्रश्न उठाए ।

न्यायाधीशले भने ‘यति ठूलो खर्चमा विश्वास गर्न मुस्किल छ तर यो वास्तविकता हो । यस्तै फैला भएका अन्य मुद्दाहरु पनि हुन सक्छन् तर यति खराब नहोलान् । यो केस ती दम्पतीको लागि चेतावनी हो जो कानुनी दाउपेचमा सम्पत्ति खर्च गर्छन् र उनीहरुसँग केही बाँकी रहँदैन । आज यो आत्मघाती मुद्दा समाप्त भएको छ । उनीहरुले कमाइभन्दा धेरै खर्च गरे र ऋणी भए ।’

प्रतिक्रिया दिनुहोस