जब एउटै महिलाले आफ्नै गर्भमा हुर्काएर ६९ जना बच्चा जन्माइन्…

काठमाडौं। अहिले धेरै बच्चा जन्माउने महिलाको चर्चा छ । एक महिनाअघि मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माइन् । यो आफैंमा एक विश्व रेकर्ड थियो । त्यसअघि कुनै पनि महिलाले एकसाथ ९ बच्चा जन्माएका थिएनन् । तर, ती महिलाको रेकर्ड एक महिना पनि टिकेन ।

यही सोमबार दक्षिण अफ्रिकाकी अर्की महिलाले एकैपटक १० जना बच्चा जन्माएर अर्को नयाँ रेकर्ड बनाइन् । तर, बच्चा जन्माउने विषयमा रुसकी एक महिलाको अद्भूत रेकर्ड छ । यो रेकर्ड बनेको अढाइ सय वर्ष भइसक्यो तर उनको रेकर्ड कायमै छ ।

बीबीसीका अनुसार अठारौं शताब्दीमा रुसकी महिला मिसेज वासिल्येभले ६९ जना बच्चालाई जन्म दिएर विश्वरेकर्ड बनाएकी थिइन् । त्यतिबेला सेरोगेसीको प्रविधि थिएन र यी सबै बच्चा ती महिलाले आफ्नै गर्भमा हुर्काएर जन्माएकी थिइन् । ती महिलाका श्रीमानको नाम फेओदोर वासिल्येभ हो । महिलाको नाम भने इतिहासका पानामा हरायो त्यसैले अहिले उनलाई मिसेज वासिल्येभ भनेर चिनिन्छ । उनको यो रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता छ ।

एक स्थानीय मन्दिरले मस्को सरकारलाई १७२५ देखि १७६५ को बीचमा दिएको रिपोर्टअनुसार मिसेज वासिल्येभले १६ पटक जुम्ल्याहा बच्चा जन्माउँदा कूल ३२ जना, ७ पटक तिम्ल्याहा बच्चा जन्माउँदा कूल २१ जना र ४ पटक चम्ल्याहा बच्चा जन्माउँदा कूल १६ जना बच्चा गरी जम्माजम्मी ६९ बच्चा जन्माएकी थिइन् । यी ६९ बच्चा जन्माउनको लागि उनी २७ पटक सुत्केरी भएकी थिइन् ।

यी महिलाको जन्म १७०७ मा भएको थियो र उनी रुसको तेस्रो ठूलो सहर शुयामा बस्थिन् । मिसेज वासिल्येभको रेकर्डबारे सबैभन्दा पहिले १७८२ मा निकोलस्कको एक मठले मस्कोलाई रिपोर्ट गरेको थियो । एक वर्षपछि १७८३ मा जेन्टलम्यान म्यागजिनमा यो घटनाबारे रिपोर्ट छापिएको थियो ।

कैयौं आलोचकहरुले यी महिलाको अद्भूत प्रजनन क्षमताबारे प्रश्न पनि उठाउने गरेका छन् । १७ औं शताब्दीमा आधुनिक विज्ञानको कमी भएका बेला यी महिला यति धेरै पटक गर्भवती भएर सफलतापूर्वक सुत्केरी हुन कसरी सकिन् भन्ने उनीहरु प्रश्न उठाउँछन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डसले भने यो रेकर्डलाई मान्यता दिएको छ । यो रेकर्डको बचाउ गर्दै गिनिज वर्ल्ड रेकर्डसले यी महिलाले एकै चक्रमा हाइपर ओभ्युलेट गरेको हुन सक्ने वा यी महिलाको शरीरमा एकभन्दा धेरै अण्डा उत्पादन गर्ने प्रवृत्ति हुन सक्ने भनेको छ ।

गिनिज वर्ल्ड रेकर्डसले यस्तो अवस्थामा जुम्ल्याहा वा सोभन्दा धेरै बच्चा हुने सम्भावना अधिक बढ्ने भन्दै ती महिलाको हकमा पनि यस्तै भएको हुन सक्ने तर्क दिएको छ । महिलाको बच्चा जन्माउने अवधिमा २७ पटक गर्भवती हुन असम्भव नभएको पनि गिनिजले तर्क गरेको छ ।

प्रतिक्रिया दिनुहोस