२६ करोड रुपैयाँको औषधि असफल, उपचारपछि पनि ११ महिनाकी बालिकाको मृत्यु

काठमाडौं। संसारकै सबैभन्दा महंगो २६ करोड रुपैयाँ मूल्य पर्ने औषधिले पनि ११ महिनाकी बालिकालाई बचाउन सकेन । यी बालिकालाई यो अत्यन्तै महंगो पर्ने औषधिको सुई लगाइएको थियो तर यी बालिका वेदिका शिन्देको मृत्यु भएको छ । आइतबार राती सास फेर्न समस्या भएपछि उनलाई पुणेको एक अस्पतालमा भर्ना गरिएको थियो । अबेर राती उनको मृत्यु भएको छ ।

महाराष्ट्रको पिंपरी चिंचवाडका सौरभ शिन्देकी छोरी वेदिकालाई स्पाइनल मस्कुलर एट्रफी (एसएमए) नामको जेनेटिक स्वास्थ्य समस्या थियो । उनको उपचारको लागि उनका मातापिताले क्राउडफण्डिङमार्फत हजारौं जनाबाट सहयोग उठाएर २६ करोड रुपैयाँ जम्मा गरेर अमेरिकाबाट जोलगेन्स्मा नामको इन्जेक्सन मगाएका थिए । यो रोगको यही अन्तिम उपचार मानिन्छ ।

वेदिकालाई जुन महिनामा यो इन्जेक्सन लगाइएको थियो । त्यसपछि पूरै परिवार निकै खुसी थिए र वेदिकाको कहानी सामाजिक संजालमा निकै भाइरल भइरहेको थियो । तर, यो खुसी धेरै दिन टिक्न सकेन र वेदिकाले आइतबार संसारबाट विदा लिइन् । वेदिकाको यसरी मृत्यु भएपछि परिवार र उनलाई सहयोग गर्नेहरु शोकमा छन् । यति महंगो औषधि दिइसकेपछि पनि वेदिकाको मृत्यु कसरी भयो भन्ने विषयमा मानिसहरु प्रश्न उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस