अफगानिस्तानमा महिलाका विद्यालयहरू बन्द भएको विरुद्ध काबुलमा प्रदर्शन

तालिबानरुले अफगानिस्तानमा महिला विद्यालयहरू बन्द गरेपछि मङ्गलवार काबुलका सडकहरूमा महिलाहरूले प्रदर्शन गरेका छन् । तालिबान शासकहरूको ज्याजति देखेर पनि मौन रहेका अन्तर्राष्ट्रिय समुदायहरूलाई आफ्नो आवाज जाओस् भन्ने हेतुले काबुलका सडकहरूमा प्रदर्शन गरिएको बताइएको छ ।

खामा प्रेस न्युज एजेन्सीका अनुसार काबुलको राष्ट्र सङ्घ सहयोग समन कार्यालय अगाडि प्रदर्शन गरिएको हो । उनीहरूले अन्तर्राष्ट्रिय समुदाय, मानव अधिकार समूह र संयुक्त राष्ट्र सङ्घलाई नै अफगानिस्तानमा तालिबान शासकहरू ले उत्पीडन गरेका महिलाहरूको विषयमा मौन बसेको र भेदभाव गरेको आरोप समेत लगाएका थिए ।

संयुक्त राष्ट्र सङ्घको यो मौनताले गर्दा इतिहास समक्ष राष्ट्र सङ्घ लज्जित हुनुपर्ने उनीहरूले नारा लगाएका थिए । महिला अधिकार, रोजगार र शिक्षाका नाराहरू जोडाजोडले लगाएका अफगानी महिलाहरूले आफ्नो देशका किशोरीहरू विद्यालयका कक्षाकोठा फर्कन आतुर रहेको नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस