सिएरालियोनमा इन्धन ट्याङ्कर विष्फोट, कम्तिमा ८४ जनाको मृत्यु

फ्रिटाउन– अफ्रिकी मुलुक सिएरालियोनको राजधानी फ्रिटाउनमा एक इन्धन ट्याङ्कर विष्फोट हुँदा कम्तिमा ८४ जनाको मृत्यु भएको छ ।

सिएरा लियोनको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी एनडीएमएका सञ्चार निर्देशक मोहम्मद लमराने बाहले दिएको जानकारीका अनुसार विस्फोटमा कयौं मानिस घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

बाहका अनुसार घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । गम्भीर घाइतेको अवस्था हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको उनले जानकारी दिए । घटनास्थलमा उद्धारकार्य सकिएको छ । दुर्घटनाको कारणको खोजी भइरहेको जनाइएको छ ।

इन्धन भरिएको ट्याङ्करमा भएको विस्फोटको आवाज सहरभन्दा निकै परसम्म सुनिएको थियो भने आगोको ज्वाला नजिकका बस्तीमा फैलिएको थियो । आगोका कारण लामो समयसम्म घटनास्थलमा पुग्न नसकिएको स्थानीय अधिकारीहरूले जानकारी दिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस