इन्धन बोकेको ट्यांकर दुर्घटना हुँदा १०८ जनाको मृत्यु, ९२ जना जलेर घाइते

एजेन्सी । सियरा लिओनको एक राजमार्गमा इन्धन बोकेको एक ट्यांकर दुर्घटनामा पर्दा भएको आगलागीमा कम्तीमा पनि १०८ जनाको निधन भएको छ । सो दुर्घटनामा परेर अरु ९२ जना जलेर घाइते भएका बताइएको छ । यसमा परेर घाइते भएकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । उनीहरुको शरीर जलेको बताइएको छ ।

सियरा लियोनको राजधानी फ्रिटाउनमा शुक्रबार साँझतिर भएको दुर्घटनामा परी ज्यान जानेको संख्या १०८ पुगेको यहाँका अधिकारीहरुले शनिबार जनाएका छन् । शनिबार रातिसम्ममा १०८ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गरेका छन् । यहाँका उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरु करिब ९० जनाको उपचार भइरहेको पनि जानकारी दिए ।

उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि १०८ जनाको मृत्यु भइसकेको र अरु ९२ जनाको उपचार भइरहेको बताएका छन् । यहाँका चिकित्सकहरुले दिएको जानकारीमा घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । तीमध्ये कतिपय दुर्घटनास्थलका स्थानीय छन् भने अरु केही सडकमा यात्रा गरिरहेका व्यक्ति पनि परेका छन् ।

प्रतिक्रिया दिनुहोस