सम्बन्ध विच्छेद गरी छुट्टै बसेकी श्रीमतीले श्रीमानलाइ मध्यरातमा फोन गर्दै भनिन्, ‘ए.. हजुर ! प्रेसरको दबाइ लिइरहनुभएको छ नि ?’

हरेक मध्येरातमा एक नम्बरबाट उनलार्ई मिसकल आइरहेको हुन्छ, तर कसको नम्बर होला भनी उनी फोन फर्काउँदैनन् बरु कसैको नम्बर झुक्किएर आयो होला भन्ने सोच्छन् । एक दिन होइन दुई दिन, तीन दिन लगातार मिसकल आइरहेको हुन्छ । सातौँ दिनको मध्यरातमा फेरि मिस कल आउँछ र उनकी छोरीले ‘बाबा हजुरको नम्बरमा मिलकल आइराछ’ भन्छिन्,

तर ‘कसैले झुक्किएर गरेको होला, छोड्देउ छोरी’ भन्छन् उनी । बाबा, छोरी, छोरा सबै सुत्छन् । सोही रात फेरि मिसकल आउँछ । ’अब त भएन है यसलार्ई थर्काउनु पऱ्यो भन्दै छोरी र छोराले फोन फर्काउन खोज्छन्, बाबाले फोन लिँदै ‘म कुरा गर्छु को रहेछ यति राति सधैं मिस कल गर्ने’ भन्छन् ।

र, उनी फोन गर्छन् । उताबाट आवाज आउँछ- ‘ए.. हजुर ! प्रेसरको दबाइ लिइरहनुभएको छ नि ?’ यो शब्द सुनेर उनी झस्किन्छन् । आवाज चिनेको जस्तो पनि लाग्छ, जवाफ फर्काउँछन–‘तपाईं को हो ? फेरि मलाई प्रेसर छ या छैन तपाईंलाई जानकारी कसरी ?’ जवाफ आउँछ- ‘म उही हुँ… हजुरसँग सम्बन्ध विच्छेद गरी छुट्टै बसेकी व्यक्ति ।’

सम्बन्ध विच्छेद भैसकेकी आफ्नो पूर्वपत्नीको आवाज सुनेर उनी मौन हुन्छन् । छोराछोरीले ‘बाबा को हो ? किन यति राति फोन गरेको ? फेरि महिलाको आवाज छ’ भन्दै जिज्ञासा राख्छन् । बच्चाहरूको प्रश्नको जवाफ उनले दिन चाहेनन्, ‘सुत तिमीहरू.. यति रात भैसक्यो’ भन्दै मोबाइल अफ गर्छन् र सबै सुत्छन् ।

तीनैजना एकसाथ चियाखाजा खाँदैछन् । छोराछोरीलाई कौतुहलता हुन्छ, बाबालाई राति कसको मिसकल आउँछ भनेर बुझ्नलार्ई, र हिम्मत गरेर सोध्छन्- ‘बाबा हजुरलाई कसको मिसकल आउँछ मध्यरातमा.. हामीलाई भन्नुस् न, फेरि हामी खाना पनि खाँदैनौँ नि !’ बच्चाहरू जिद्दी गर्छन् । उनीहरूको जिद्दीको अघि बाबाको केही चल्दैन । उनी वास्तविकता खोल्न बाध्य हन्छन्– ‘मध्यरातमा सधैं मिस कल आउने तिमीहरूको आमाको हो ।’

बच्चाहरू झस्किन्छन् । ‘बाबा.. किन मामुले हजुरलाई मिसकल गरेको ? उहाँले हजुरसँग सम्बन्ध विच्छेद गरेर अर्कैसँग विवाह गर्नुभएको होइन र ? हामीलाई थाहा छ । अहिले किन मिसकल गरेर दुःख दिएको होला ?’

छोराछोरीको कुरा सुनेर बाबा भन्छन्, ‘हेर.. तिम्री आमाको सम्बन्ध मसँग विच्छेद भएको हो तिमीहरूसँग होइन, आमा हो ! तिमीहरूले मानमर्यादा राख्नैपर्छ ।’

तर छोराछोरी कुनै हालतमा मान्दैनन् । ‘कस्तो दुःखमा बाबा हजुरलाई मामुले छोडेको हो हामीलाई थाहा छ, फेरि पनि हजुर हामीलाई सम्मान गर्न सिकाउनुहुन्छ !’ छोरी रिसाएजस्तो भाव प्रकट गर्दै भन्छिन् । ‘मलाई बिर्से पनि बिर्स तर आमालाई नबिर्स’- बाबाले भनिरहेका हुन्छन् । बच्चाहरू आफ्नो बाबालाई प्राणझैँ माया गर्छन्, बाबाको कुरा मान्छन् र बाबालाई अर्को विवाह गर्न सुझाव पनि दिन्छन् ।

प्रतिक्रिया दिनुहोस