५० वर्षे आमाका लागि बेहुला खोज्दै यी युवती…….

एजेन्सी। आमा–बुवाले आफ्ना सन्तानको विवाहका लागि पत्रपत्रिकामा विज्ञापन दिने चलन नेपालमा पनि बढेको छ।भारतमा यस्ता विज्ञापन मेट्रोमोनियलमा दिने गरिन्छ। यसबारे हामीमध्ये धेरैलाई थाहा छ। तर यहाँ एउटा ट्वीस्ट छ, त्यसकारण त यो खबर रोचक भयो।

भारतमा एक छोरीले आफ्नी आमाका लागि दुलहाको खोजी गरिरहेकी छिन्।परिवर्तित समाजमा उनको यो कदमलाई जताततै प्रशंसा गरिँदै छ। यसैकारण छोरीले गरेको ट्वीट तीब्र रुपमा भाइरल भइरहेको छ।

आस्था वर्मा नामकी युवतीले ट्वीटरमा आफ्नो र आमाको तस्बिर सेयर गर्दै लेखिन्, ‘आफ्नी आमाका लागि ५० वर्षका ह्यान्डसम व्यक्तिको खोजीमा छु।उनी शाकाहारी, मद्यपान नगर्ने र राम्रो तरिकाले स्थापित हुनुपर्छ।’

आस्था आफ्नी आमाका लागि यस्तो दुलहाको खोजीमा छिन् जो हेर्दा ह्यान्डस हुनुपर्छ र उमेर ५० वर्षको हाराहारीमा हुनुपर्छ।आस्थाको यो ट्वीट अहिलेसम्म ६ हजार बढीले रिट्वीट गरेका छन् र यसमा २९ हजार बढी लाइक आइसकेको छ।

आस्थाको प्रोफाइल हेर्ने हो भने उनले आफूलाई कवयित्री, राजनीतिक अवलोकनकर्ता, नेल आर्टिस्ट, देशभक्त र कानूनकी विद्यार्थीको रुपमा पेश गरेकी छिन्।आस्थाले ट्वीटरमा जुन फोटो सेयर गरेकी छिन् त्यसमा उनकी आमाले गुलाबी रङको कुर्ता लगाइरहेको देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस