बाइकले जुराएको विमानका पाइलट जोडी, यो जोडीको यस्तो छ रोचक कहानी

काठमाडौं । शिखर ढकाल तथा कोमल बस्नेत सन् २००८ मा बुद्ध एयरमा जुनियर फस्ट अफिसरका रूपमा प्रवेश गरेका पाइलट हुन् । उनीहरु अहिले सिनियर पाइलट बनिसकेका छन् । पुख्र्यौली घर विराटनगर भएको यो जोडीको पारिवारिक सम्बन्ध निकै सुमधुर थियो ।

उनीहरु छिमेकी थिए । तरपनि पढाइको बेला भने कुनै हिमचिम थिएन । विदेशबाट पढाइ सकेर नेपाल आउँदासम्म शिखर र कोमलबीच चिनजान नै थिएन । कोमल विराटनगरमा हुँदा शिखरको परिवार काठमाडौं सरिसकेकाले पनि उनीहरूको भेट नभएको हो । तर उनीहरुका अभिभावकबीच भने समधुर सम्बन्ध थियो ।

अमेरिकाबाट पाइलट कोर्स सकेर काठमाडौं आई एफआरओ कक्षा लिने क्रममा उनीहरूबीच चिनजान भयो । १२ जनाको उक्त समूहमा शिखर, कोमल र अन्य दुई जना मिल्ने साथी थिए । त्यसमा पनि शिखर र कोमल बढी क्लोज देखिन्थे ।

कोमलसँग त्यतिबेला सवारी साधन थिएन । त्यसैले शिखर लिन आउँथे अनि पुर्‍याउन पनि जान्थे । बाइकको पछाडि बसेर विभिन्न कुराकानी गर्दै नजिकिएको यो जोडी फुर्सदमा खान र घुम्न जान थाल्यो । उनीहरु नै भन्छन् हामीलाई बाईकले धेरै क्लोज बनायो ।

रिजर्भ बस्ने शिखर कोमलको बोली, व्यक्तित्व एवं व्यवहारका साथै कसैसँग नडराउने बानिप्रति आकर्षित भए । कोमललाई भने शिखरको इनोसेन्स, कुल अनि नआत्तिने व्यवहार एवं कामप्रतिको इमान्दारिताले आकर्षित गर्‍यो ।

एकले अर्कालाई मन पराउने कुरा थाहा पाएपछि घरबाट उनीहरूको मागी विवाह भएको हो । उनीहरूको विवाहमा उनीहरू जत्तिकै दुवै परिवार खुसी थिए । विवाहपछि करियरमा गार्‍हो भन्दा अझ ऊर्जा बढेको उनीहरू बताउँछन् । उनीहरूले एउटै प्लेन उडाउन नपाए पनि एउटै समयमा छुट्टाछुट्टै प्लेन भने धेरैपटक उडाएका छन् ।

एउटै समय हुँदा एयरपोर्टमा एक–अर्कालाई भेट्दा निकै रमाइलो अनुभव हुने कोमल बताउँछिन् । अफिसले हप्ताको एक दिन सँगै छुट्टी मिलाइदिएकाले उनीहरूलाई घुम्न वा कतै जान समय मिलाउनु पर्दैन । समय मिलाएर वर्षको एकपटक बाहिर घुम्न जाने यो जोडीलाई एउटै क्षेत्रको भएकाले कामको मर्म बुझ्न सजिलो भएको अनुभव छ । उनीहरूले भारतको टुर जंग कम्पनीमा ७ महिना क्याप्टेनका रूपमा काम गरेका छन् । त्यहाँ कतिपय ठाउँमा नेपाली भनेर हेप्न खोज्दा कोमलले नै आवाज उठाउँछिन् ।

कुन ठीक हो, कुन बेठीक हो छुट्याएर त्यसमा अडिग भएर लाग्ने उनको क्षमतालाई शिखर सलाम गर्छन् । उनीहरू घरको काम पनि मिलेर गर्छन् । बिहान अफिस नहुनेले खाना बनाउनेदेखि लिएर घरका अन्य काम पनि गर्छन् । त्यसैले पनि उनीहरूमा घरको कामलाई लिएर कुनै तनाव हुँदैन । उनीहरू फुर्सदमा घरमै आराम गर्न रुचाउँछन् । अफिसबाट ६–६ महिनामा दुवैलाई सँगै ट्रेनिङमा बैंकक पठाइन्छ ।

त्यतिबेला उनीहरू दुई दिन समय थपी घुमेर आउँछन् । जस्तोसुकै समस्यामा पनि एकले अर्काको अनुहार मात्र देख्दा पनि आनन्द महसुस गर्छन् । यो जोडीलाई हरेक काम उत्तिकै रिस्क भएको काम जस्तो लाग्छ । उनीहरूलाई आकाशमा प्लेन उडाउँदा जस्तो रमाइलो क्षण अरू कुनै लाग्दैन । उनीहरू घरमा आ–आफ्नो अनुभव सुनाउँदै नयाँ टेक्नोलोजी र ठाउँ तथा मौसमका बारेमा छलफल गर्छन् ।

प्रतिक्रिया दिनुहोस