सावधान ! तपाईंका यी दश बानीहरुले मृगौला बिगार्न सक्छ…

मृगौला मानव शरीरको महत्वपूर्ण अंगहरुमध्ये एक हो । विशेष गरी रगतमा हुने विकार र बढी भएको पानीलाई छानेर पिसाबको माध्यमबाट बाहिर फ्याँक्ने र शरीरलाई स्वस्थ राख्ने विशिष्ट अंग हो यो । मृगौलाले रगतको विकारलाई छान्ने, त्यसलाई शुद्ध र शरीरको लागि उपयोगी बनाउने काम गरिरहेको हुन्छ ।

रगतलाई शुद्ध अर्थात् विकाररहित बनाउनुका साथसाथै मृगौलाले विभिन्न हर्मोनहरु पनि पैदा गरिरहेको हुन्छ र यसले रगतमा रातो रक्तकोषको उत्पादनलाई पनि प्रोत्साहित गरिरहेको हुन्छ । मृगौलाले रगतको माध्यमबाट शरीरको लागि चाहिने खनिजहरु सोस्ने, बढी भएको पानीलाई फ्याँक्ने र रगतको पीएच स्तरलाई ठीक्कको अवस्थामा राख्ने काम गररहेको हुन्छ ।

मृगौलाले सही ढंगले काम गर्न सकेन भने विभिन्न खाले स्वास्थ्य समस्याहरु पैदा हुन थाल्छ । यस अर्थमा पनि मृगौलालाई हामीले विशेष ख्याल गर्नैपर्छ । यहाँ मृगौलालाई नोक्सानी पुर्याउन सक्ने १० खराब बानीका बारेमा हामी केही चर्चा गरिएको छ ।

१. पर्याप्त मात्रामा पानी नखानु

मृगौलाले रगतलाई छान्ने र त्यसमा भएका विकारहरुलाई हटाउने हुनाले हामीले पर्याप्त मात्रामा पानी पिउने बानी गर्नुपर्छ । हामीले पर्याप्त मात्रामा पानी पिएनौं भने हामीलाई जलविनियोजन अर्थात् डिहाइड्रेसन हुन्छ, जसको सोझो असर भनेको मृगौलाले रगतलाई राम्ररी छान्न पाउँदैन र रगतमा विषाक्तता बढ्न जान्छ । त्यसबाहेक, पर्याप्त मात्रामा पानी पिउने बानी गर्नाले मृगौलामा अत्यन्तै पीडादायी हुने पत्थरी पनि बन्न पाउँदैन ।

२. जथाभावी पीडानाशक औषधीको प्रयोग

आधुनिक समाजको सबैभन्दा ठूलो स्वास्थ्य समस्याहरुमध्येका एक भनेकै जथाभावी पीडानाशक औषधी अर्थात् पेनकिलरको प्रयोग बन्दै गइरहेको छ । तनाव, भागदौड र प्रदूषणले जेलिएको आधुनिक जीवनशैलीको सहउत्पादनको रुपमा विभिन्न थरिका पीडाहरु पैदा हुने गर्छ र त्यसबाट सजिलै छुटकारा पाउने विधि भनेको पीडानाशक औषधीको सेवन बन्ने गरेको छ । त्यस्ता औषधीले तत्कालै त पीडाबाट मुक्ति दिन्छ तर त्यसले मृगौलालाई चाहिँ नोक्सान पुर्याउँछ ।

सामान्य मात्राको त्यस्तो औषधीले तत्कालै त खराबी गरिहाल्दैन तर चिकित्सकको सल्लाहबिना जथाभावी र चाहिनेभन्दा बढी औषधीको सेवन गर्ने, जतिखेर पायो त्यतिखेरै खाने बानीले चाहिँ निश्चितै रुपमा मृगौलालाई बिगार्ने काम गरिरहेको हुन्छ ।

पीडानाशक औषधीले मृगौलामा जाने रगतको प्रवाहलाई कम गरिदिन्छ । जसको परिणामस्वरुप मृगौलासम्बन्धी घातक रोगहरु लाग्ने खतरालाई बढाइदिन्छ ।

३. नूनको धेरै प्रयोग

नून मन्द विषको रुपमा पनि कुख्यात छ । शरीरको लागि अत्यावश्यक पदार्थहरुमध्येको एक नून पनि हो तर यो सामान्यतः एउटा मानिसलाई चाहिने मात्रामा प्राकृतिक रुपमै भोजनहरुबाट प्राप्त हुने गर्छ । तर हामी खानेकुरालाई स्वादिलो बनाउनको लागि शरीरको लागि चाहिने मात्रामा भन्दा पनि बढी नून खाने गर्छौं । तर धेरै मात्रामा नून खाने बानीले खालि मृगौलालाई भार पारिदिन्छ र जसलको नतिजा भनेको मृगौला नै काम नलाग्ने हदसम्ममा पुग्ने पनि हुन सक्छ ।

४. लामो समयसम्म पिसाब रोक्नु

धेरै जसो मानिसहरु पिसाब फेर्ने ठाउँ नपाएर, अल्छी गरेर वा कामको व्यस्तताका कारण लामो समयसम्म पिसाब रोक्ने गर्छ । यो बानी चाहिँ मृगौलाको लागि अत्यन्तै खराब हो । तर मृगौलालाई जोगाउने हो र स्वस्थ राख्ने हो भने जतिसुकै व्यस्त भएपनि अल्छी नगरिकनै पिसाब लाग्नेबित्तिकै फेर्ने बानी गर्नुपर्छ । विभिन्न अध्ययनहरुले के प्रमाणित गरिसकेको छ भने लामो समयसम्म पिसाबलाई रोक्ने बानी गर्दा पिसाब नलीमा संक्रमण हुने खतरा बढेर जान्छ । पिसाब नलीमा संक्रमण हुनुभनेको शरीरमा नोक्सानदायी व्याक्टेरियाहरुले प्रवेश पाउनु नै हो । र, त्यसलाई बेलैमा उपचार गर्न सकिएन भने कतिपय अवस्थामा त त्यसले मृगौलालाई नै पनि काम नलाग्ने गरी बिगारिदिन सक्छ ।

५. अत्यधिक गुलियोको सेवन

अत्यधिक गुलियोका सेवनले अनिवार्य रुपमा निम्त्याउने अवस्था भनेको मोटोपन नै हो । बताइबस्नु जरुरी छैन कि मोटोपन भनेको मधुमेह र उच्च रक्तचापलाई निम्तोपत्र बाँड्ने खतरनाक अवस्था पनि हो । अर्थात् अनावश्यक मोटोपन बढ्दै जाँदा त्यसले मधुमेह लाग्ने र उच्च रक्तचाप हुने खतरा पनि निम्त्याइदिन्छ । मृगौलाका जटील समस्याहरु पैदा गराइदिने दुई मुख्य कारण पनि यिनीहरु नै हुन् । मृगौलाले सामान्यतः प्रतिदिन १८० मिलिग्राम ग्लुकोज छान्छ । हामीले अत्यधिक मात्रामा गुलियो खाँदा मृगौलाले पनि तिनलाई छान्नको लागि अति बढी नै काम गर्नुपर्ने हुन्छ ।

६. पर्याप्त मात्रामा नसुत्नु

सुत्नु स्वास्थ्यको लागि र मृगौलाको लागि अति जरुरी छ । सामान्यतः ६ देखि ८ घण्टा सुत्नु स्वास्थ्यको लागि आवश्यक मानिन्छ । सामान्यतः हामी गहिरो निद्रामा रहेको बेला मृगौलाका नष्ट भएका वा खराब भएका कोषहरु पुनर्निर्माण भइरहेको हुन्छ । तर हामी पर्याप्त मात्रामा सुतनौं भने मृगौलाले रक्त सुद्ध पार्ने काममा नै खट्नुपर्ने हुन्छ । फलतः उसले आफ्ना बिग्रेका कोषहरु मर्मत गर्न वा नयाँ बनाउन पाउँदैन । मृगौलाका कामहरु हामी सुत्ने र उठ्ने प्रक्रियासँग मिलेर सम्पन्न भइरहेको हुन्छ । हामीले पर्याप्त मात्रामा सुतेनौं भने उच्च रक्तचाप तथा रक्तधमनीहरुमा अवरोध आउने खतरा हुन्छ । यो भनेको फेरि पनि मृगौलामा जटील समस्याहरु पैदा हुने अवस्था सिर्जना हुनु नै हो ।

७. धेरै प्रोटिनको सेवन

शरीरको कोषहरुको निर्माणमा प्रोटिनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । तर अत्यधिक मात्रामा मासुजन्य प्रोटिनको सेवनले मृगौलामा भार पारिदिन्छ । मासुजन्य प्रोटिनले शरीरमा एसिडको मात्रा बढाइदिन्छ, जसको अर्थ हो शरीरको पीएचको सन्तुलन त्यसले विगारिदिन्छ । फलतः शरीरमा पीएचको सन्तुलन ठीक राख्नको लागि मृगौलाले बढी नै काम गर्नुपर्ने हुन्छ । त्यो भनेको फेरि पनि मृगौलालाई खराब पारिदिने अवस्था नै हो ।

८. रक्सीको सेवन

रक्सीको सेवनले मुख्यतः कलेजोलाई असर पार्ने गर्छ तर त्यसको खराब प्रभावबाट मृगौला पनि अछुतो चाहिँ रहन सक्दैन । खासगरी, नियमित रुपमा धेरै रक्सी सेवन गर्ने मानिसहरुमा मृगौलाको रोग लाग्ने सम्भावना बढी हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । रक्स्याहा र जड्याहा हुनु आफैंमा मृगौला रोगलाई निम्त्याउने अवस्था हो भने अझ त्यसमाथि थप त्यस्ता मानिसले धूमपान पनि गर्छ भने त त्यो झनै खराब अवस्था हो । मद्यपान र धूमपान गर्नेहरुमा मृगौलाका जटील समस्याहरु देखापर्ने खतरा बढी नै हुने गर्छ । खासगरी, मद्यपान गर्ने मानिसहरुमा युरिक एसिड बढी हुने गर्छ जुन मृगौलाका ट्यूबहरुमा जम्मा हुने गर्छ । त्यसले पिसाबको प्रवाहमा रोकवट आउने समस्या पैदा गरिदिन सक्छ ।

९. हिँड्डुल कम गर्नु र एकै ठाउँमा अत्यधिक बसिरहनु

हिँड्डुल कम गर्नु र एकै ठाउँमा धेरै बेर बसिरहने बानी मृगौलालाई नोक्सान पुर्याउने एउटा प्रमुख कारण हो । हिँड्डुल गर्ने र अरु व्यायाम गर्ने गर्दा त्यसले शरीरमा जम्मा भएका ग्लुकोजको खपतलाई बढाइदिन्छ, जसले गर्दा रगतमा अनावश्यक मात्रामा ग्लुकोज जम्मा हुन पाउँदैन । साथै, त्यस्ता शारीरिक गतिविधिरुले हाम्रो रक्तचापलाई पनि नियन्त्रित राखिराख्न मद्दत गर्छ ।

त्यसबाहेक, शारीरक व्यायाम नगर्ने, हिँड्डुल कम गर्ने र एकै ठाउँमा धेरै बेर बसिरहने खालको काम गर्ने मानिसहरुमा मृगौलाको समस्या देखापर्ने सम्भावना ३० प्रतिशतले बढी हुने गर्छ ।

१०. धूमपान

धूमपानले विशेष गरेर फोक्सो र मुटुलाई नोक्सानी पुर्याउने गर्छ । तर यसको अर्थ यो होइन कि त्यसले हाम्रो शरीरका अन्य अंगहरुलाई चाहिँ कुनै असर नै पुर्याउँदैन । वास्तवमा, धूमपानले हाम्रो शरीरको प्रत्येक अंगहरुलाई नै नोक्सान पुर्याइरहेको हुन्छ । यो अवस्थामा यो भनिबस्नु नपर्ला कि धूमपानले मृगौलालाई पनि नोक्सानी नै पुर्याउने काम गर्छ । धुमपानले रक्तचाप बढाइदिन्छ, रक्तनलीहरुमा अवरोध ल्याउन सक्छ र त्यसले मृगौलाका कामहरुलाई घटाइदिन सक्छ । अझ मृगौला रोगीहरुमा त धूमपानले त्यो रोगलाई झनै बढाइदिन्छ र पिसाबमा प्रोटिन जाने समस्या समेत पैदा गराइदिन सक्छ ।

त्यसैले मृगौलालाई खराब हुनबाट जोगाउने हो भने, स्वस्थ खानेकुराहरु खाने, पर्याप्त मात्रामा पानी पिउने, नियमित व्यायाम र हिँड्डुल गर्ने र माथि उल्लेख गरिएका खराब बानीमा परिवर्तन ल्याउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस