बेलायतले नर्सिङ जनशक्ति मागेपछि नेपालले थाल्यो गृहकार्य, यस्ता छन् सेवा–सुविधा

बेलायतले नर्स लैजाने प्रस्ताव गरेपछि नेपालले यसबारे गृहकार्य सुरु गरेको छ। बेलायतले नर्सिङ क्षेत्रमा आफूलाई एक लाख जना श्रमिक आवश्यक परेको र नेपालबाट पनि लैजान इच्छुक रहेको भन्दै श्रम सम्झौताको प्रस्ताव पठाएको छ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव बिनु बज्रचार्यको संयोजकत्वमा कार्यदल बनिसकेको छ। नर्स लैजाने बिषयमा थप तयारी सुरु भइसकेको मन्त्रालयका प्रवक्ता सहसचिव डन्डुराज घिमिरेले बताए।

नेपाल सरकारले बेलायत सरकारसँग ‘फ्रि भिसा फ्रि टिकट’ मा नर्सहरू पठाउने तयारी गरेको हो। काठमाडौंस्थित बेलायती दूतावासले प्रस्ताव गरेको छ। प्रस्तावमा सम्पुर्ण खर्च बेलायतले नै बेहोर्ने उल्लेख छ।

यसमा निजी क्षेत्रको संलग्नता रहने छैन। वैदेशिक रोजगारका लागि सरकारी (जिटुजी) संयन्त्रमार्फत शून्य लागतमा नेपाली पठाउन लागिएको यो पहिलोपटक हो।

‘प्रस्ताव तयार गर्न समय नै त तोकिएको छैन। तर, समितिलाई छिट्टो काम गर्न भनिएको छ,’ घिमिरेले भने।

पहिलो चरणमा तीन सयसम्म नर्स लैजाने

बेलायतले नेपालबाट पहिलो चरणमा कति नर्स लैजाने भन्ने यकिन भइसकेको छैन। तर पहिलो चरणमा तीन सयसम्म लैजान सक्ने अनुमान गरिएको छ।

यसबिषयमा छलफलका लागि परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र वैदेशिक रोजगार विभागका प्रतिनिधि सदस्य छन्।

यो समिति र बेलायत सरकारको समितिबीच छलफल तथा सहमतिपछि श्रम सम्झौताको प्रक्रिया अगाडि बढ्ने मन्त्रालयले जनाएको छ।
सम्झौता प्रक्रियापछि नेपाली श्रमिक भर्ना प्रक्रिया अगाडि बढाइने छ।

दुई पक्षीय छलफलमार्फत यी विषयको टुंगो लगाइने प्रवक्ता घिमिरेले बताए।

न्यूनतम ७ स्कोर ल्याउनुपर्ने

बेलायत जान चाहने श्रमिकले इन्टरनेसल इंग्लिस ल्यांग्वेज टेस्टिङ सिस्टममा ७ अंक प्राप्त गर्नुपर्ने छ। नेपालले यसलाई ५ देखि बढीमा ६ सम्म झार्न प्रस्ताव गर्ने भएको छ।

भाषा परीक्षाको खर्च पनि बेलायतले नै बेहोर्ने भएको छ। सुरुमा श्रमिकले नै तिर्नु पर्ने भए पनि छनोटमा परेकालाई पछि फिर्ता गर्ने जनाएको छ।

बेलायतमा नेपाली नर्सहरूले के कस्तो सेवासुविधा पाउँछन् भन्नेबारे औपचारिक जानकारी छैन। तर,आकर्षक तलब र सेवासुविधा पाउने मन्त्रालयले जनाएको छ।

अनौपचारिक कुराकानी गर्दा मासिक पाँच लाखभन्दा बढी आम्दानी हुने जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ।

नेपाल नर्सिङ काउन्सिलका अनुसार नेपालमा गत भदौ २० गतेसम्म ६७ हजार २२ जना नर्स दर्ता छन् त्यस्तै, मिडवाइफ २३ जना छन् भने अनमी संख्या ३५ हजार ३ सय ६४ छ। विदेशिएका नर्सको तथ्यांक २५ हजारभन्दा बढी छ। यो संख्या औपचारिक रूपमा विदेशिएका नर्सहरूको मात्रै हो। व्यक्तिगत तर्फबाट तथा अध्ययन सिलसिलामा विदेशिएकाहरूको यकिन तथ्यांक नभएको काउन्सिलले बताएको छ।

नेपालमा नर्सहरु केही सरकारी सेवामा रहे पनि निजी क्षेत्रमा काम गर्ने अधिकांश न्यून तलबमा काम गर्न बाध्य छन्। उनीहरुका लागि बेलायतको रोजगारी आकर्षक हुने मन्त्रालयको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस