६८ वर्ष पहिलेको २८ रुपैयाँ उधारो तिर्न अमेरिकाबाट फर्केर आए ८५ वर्षका पूर्वसैनिक

काठमाडौं, सेनाबाट अवकाश पाएपछि अमेरिकामा बस्ने छोराकहाँ गएर बसेका एक जना सैनिक अमेरिकाबाट फर्केर आए । उनी फर्केर आउनुको कारण थियो २८ रुपैयाँ उधारो तिर्नु । यो उधारो उनले ६८ वर्ष पहिले छोडेका थिए । आफू अमेरिका गए पनि आफूले तिर्नुपर्ने उधारो नबिर्सिएका यी पूर्वसैनिकले अहिले आएर २८ रुपैयाँ उधारोको सट्टा १० हजार रुपैयाँ तिरे । यो घटना भारतको हरियाणाको हिसार जिल्लाको हो ।

हरियाणामा प्रथम नौसेना बहादुरी पुरस्कारबाट सम्मानित नौसेना कमाण्डर बीएस उप्पल अवकाश पाएपछि आफ्ना छोरासँग अमेरिका गएर बस्न थालेका थिए। अहिले अमेरिकाबाट फर्केर उनी हिसारको मोती बाजारस्थित दिल्लीवाला हलवाइकहाँ पुगे । त्यहाँ पसलका मालिक विनय बंसललाई भने ‘तिम्रा हजुरबुवा शम्भु दयाल बंसललाई मैले १९५४ मा २८ रुपैयाँ तिर्नुपर्ने थियो तर म अचानक सहरबाहिर जानुपर्यो । त्यसपछि म नौसेनामा भर्ती भएँ ।’

उप्पलले भने ‘तपाइँको पसलमा मैले दहीको लस्सीमा पेडा हालेर पिउँथें जसको २८ रुपैयाँ उधारो मैले तिर्नुपर्ने थियो ।’ सेनामा सेवाका क्रममा उप्पलले हिसार आउने मौका पाएनन् । रिटायर भएपछि उनी छोराकहाँ अमेरिका गए । अमेरिकामा उनलाई २ कुरा याद आइरहन्थे ।

पहिलो २८ रुपैयाँ उधारो तिर्नुपर्ने थियो र दोस्रो हरजीराम हिन्दु हाइस्कुलमा उनी १० कक्षा पास गरेपछि जान पाएका थिएनन् । उनले उधारो तिर्न र स्कुल हेर्नकै लागि अमेरिकाबाट आएको बताए ।

बीएस उप्पलले विनय बंसललाई १० हजार रुपैयाँ दिएपछि उनले लिन अस्वीकार गरे । त्यसपछि उप्पलले आफूमाथि ऋणको बोझ भएकोले आफूलाई ऋणबाट मुक्त गरिदिन आग्रह गरे । आफू अमेरिकाबाट ऋण तिर्नकै लागि आएको बताएर उनले निकै आग्रह गरेपछि अन्ततः निकै मुस्किलले बंसलले पैसा स्वीकार गरे ।

उप्पल त्यो पनडुब्बीका कमाण्डर थिए जसले भारत पाकिस्तान युद्धमा पाकिस्तानी पनडुब्बी डुबाइदिएर आफ्नो पनडुब्बी र नौसैनिक सुरक्षित ल्याएका थिए । यो बहादुरीको लागि उनलाई नौसेना पुरस्कार दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस