१४ वर्षीया कुसुम बनिन् हेटौंडा–१८ की एक दिने वडाध्यक्ष

हेटौंडा– १४ वर्षिया कुसुम खड्का आज एक दिनका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को वडा अध्यक्ष बनेकी छिन् । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शपथ गराई मकवानपुर बाल विद्या सदन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खड्कालाई एक दिनका लागि वडाअध्यक्षको पदभार हस्तान्तरण गरेका थिए ।

सोही विद्यालयका विद्यार्थीहरू रीभा बानियाँ, सृष्टि विक, रजल श्रेष्ठ र सौगात घोरासैनीलाई वडा सदस्यको जिम्मेवारी दिइएको थियो । खड्कालाई शपथ ग्रहण गराइसकेपछि मेयर महतले यो विशेष कार्यक्रमको थालनी गरेकोमा १८ नम्बर वडाका निर्वाचित वडाअध्यक्ष अनिल बानियाँको प्रशंसा गरेका थिए ।

बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकासका साथसाथै स्थानीय सरकारले गर्ने कामका बारेमा वास्तविक अभ्यास भएकोमा महतले खुशी व्यक्त गरेका थिए । विशेष गरी बालबालिका तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो एक दिनको कार्यकालमा केही गर्ने बताएकी खड्काले वडा कार्यालयले प्रवाह गरिरहेको सेवा महिला तथा ज्येष्ठ नागरिक एवम् अपाङ्गमैत्री भए नभएको बारेमा कर्मचारीहरूसँग जानकारी लिइन् । साथै सुझाव पेटिका तथा नागरिक बडापत्र सबैले देख्ने गरी कार्यालय भवन बाहिरै राख्न सुझाव दिइन् ।

खड्का सहितको एक दिनको वडा कार्यसमितिले हर्नामाडीस्थित स्वास्थ्यचौकी तथा प्रहरी चौकीको समेत अनुगमन गरेको थियो । सो क्रममा ती कार्यालयहरूबाट प्रवाह भइरहेका सेवाको जानकारी लिनुका साथै आवश्यक सुझाव समेत दिइएको थियो । यस्तै हर्नामाडीमै रहेको ज्योति माविका विद्यार्थी, शिक्षक तथा व्यवस्थापन समितिसँग संयुक्त अन्तरक्रिया गरिएको थियो । खड्काले आजै महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिला जागरण समुह हर्नामाडीले आयोजना गरेको जनचेतनामूलक कार्यक्रमलाई पनि सम्बोधन गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस