भारतको सहयोगमा सर्लाहीमा २ वटा विद्यालय भवनको उद्घाटन

सर्लाहीमा भारत सरकारको आर्थिक सहयोगमा २ वटा विद्यालय भवनको उद्घाटन भएको छ ।सर्लाही जिल्लाको पिपरिया, कविलासी–२ स्थित श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगंज, लालबन्दी–१ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनहरुको भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले उद्घाटन गर्नुभयो ।

उक्त उद्घाटन समारोहमा स्थानीय प्रतिनिधि, जिल्ला समन्वय समितिका अधिकारी, विद्यालय व्यवस्थापन समिति तथा स्थानीयबासीले उपस्थिति जनाएका थिए ।
श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९६० मा र श्री जनता उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९६२ मा भएको हो ।

यस क्षेत्रका यी दुवै विद्यालयहरुमा प्राथमिक शिक्षाको मात्र सुविधा रहेको थियो । नेत्रगंजस्थित श्री जनता उच्च माध्यमिक विद्यालय व्यवस्थापन र प्राविधिक शिक्षा अध्यापनका लागि पनि उपयोग भइरहेको छ ।

साथै यो क्षेत्रमा घनाबस्ती भएकाले यस क्षेत्रका बालबालिकाको शैक्षिक आवश्यकताहरू पूरा गर्न हालका पूर्वाधार अपर्याप्त रहेका छन् ।

नयाँ विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पु(याउने विश्वास लिइएको छ ।
भारत सरकार, नेपाल सरकार र जिल्ला समन्वय समिति सर्लाहीबीच भएको सम्झौता अनुरुप उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा यस विद्यालय भवनको निर्माण भएको हो ।

सन् २००३ यता भारतले नेपालमा नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा हालसम्म ४६१ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ, जसमध्ये सर्लाही जिल्लाका २० गरी प्रदेश २ मा ५८ वटा रहेका छन् ।

यसका अतिरिक्त भारत सरकारले सर्लाही जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई ३८ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस