कांग्रेसलाई लोकप्रिय शक्ति बनाउन प्रयत्न गर्छु : नेता कार्की

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई लोकप्रिय शक्ति बनाउन आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।

कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गर्नुभएका नेता कार्कीले रासससँग संक्षिप्त कुरा गर्दै आगामी दिनमा पार्टीलाई अझ सशक्त र नेपालको सबैभन्दा लोकप्रिय शक्ति तथा सबैले महसुस गर्ने पार्टी बनाउने अभियानमा जुटेको बताउनुभयो ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा चिनिनुभएका नेता कार्कीले अनवरत रुपमा पार्टीको हरेक आरोह र अवरोहमा कतिपय अवस्थामा नेतृत्व बाहिर र कतिपय अवस्थामा अफूले नेतृत्वदायी भूमिकामा रहेको उल्लेख गर्नुभयो । उहाँले आफूले महामन्त्रीको जिम्मेवारीमा आएको खण्डमा पार्टीलाई नयाँ उचाइमा पु¥याउने उद्घोष गर्नुभयो । नेता कार्कीको सभापति शेरबहादुर देउवाको समूहबाट महामन्त्री पदमा उम्मेदवारी पर्ने सम्भावना प्रबल छ ।

उहाँले पार्टीलाई सशक्तरुपमा अघि बढाउन र आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने रणनीतिक अभियान थालेको अवगत गराउँदै पार्टीका नीति र विचारलाई जनतामाझ लैजान प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालिसक्नुभएका उहाँले अहिलेको मूल चुनौती आर्थिक उन्नति हासिल गर्नुरहेको भन्दै देशमा गरिबी र बेरोजगारी उम्मूलन गरेर त्यसै अभियानअन्तर्गत १० वर्षभित्र मुलुकलाई एशियाको सम्पन्न मुलुकको दाजोमा पु¥याउने योजनाका साथ पार्टी नेतृत्व अघि बढ्ने उल्लेख गर्नुभयो ।

उहाँले पार्टीमा लामो समय आफूले गरेको योगदान र अनुभवका कारण देशभरका नेता कार्यकर्ताले स्वभाविक रुपमा आफूलाई महामन्त्रीमा उम्मेदवारी दिन आग्रह गरेको अवगत गराउनुभयो । कांग्रेसवृत्तमा मात्र नभएर आम जनतामा समेत उहाँ निकै शालीन, भद्र र बुद्धिजीवी व्यक्तित्वका रुपमा चिनिनुहुन्छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि राजधानी काठमाडौँमा शुरु हुदैँछ । विभिन्न नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ ।

को हुन् नेता कार्की ?

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते पाँच दलीय गठबन्धनको सरकार गठन हुँदा नेपाली कांग्रेसको तर्फबाट नेता कार्की कानून, न्याय तथा संसदीय मामिलामन्त्री बन्नुभएको थियो । सरकार गठन भएको ८८ दिनमा विस्तार हुने क्रममा उहाँलाई सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी दिइयो । कानूनमन्त्री रहँदा नै उहाँलाई सरकारको प्रवक्तासमेत तोकिएको थियो ।

यसअघि शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारमा उहाँ अर्थमन्त्रीसमेत भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो । त्यसअघि उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा समेत मन्त्रीको भूमिका निर्वाह गरिसक्नुभएको छ । विसं २०७४ को आम निर्वाचनमा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट बामगठबन्धनका उम्मेदवारलाई पराजित गर्दै सांसदमा निर्वाचित हुनुभएको थियो ।

भोजपुरको देउरालीमा जन्मुभएका उहाँ १४ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीतिमा होमिनुभएका साथै उहाँले नेपालको विद्यार्थी आन्दोलनका क्रममा पटकपटक जेल सजायसमेत भोग्नुभएको छ । भोजपुरको विद्योदय माविमा नेपाल विद्यार्थी सङ्घको कोषाध्यक्ष रहनुभएका उहाँ त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा स्ववियुमा नेवि सङ्घको तर्फबाट सचिव बन्नुभएको थियो भने २०३९ सालमा नेपाल विद्यार्थी सङ्को केन्द्रीय अध्यक्षसमेत बन्नुभयो । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्नु हुँदा नेता कार्की उहाँको सहयोगीको रुपमा काम गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस