गुडिरहेको बसमा २ बच्चा जन्मिएपछी जीवनभर बसको भाडा तिर्नु नपर्ने सरकारको घोषणा

कतिपय मानिस जन्मँदै शौभाग्य लिएर जन्मेका हुन्छन । हालै भारतमा दुईजना छोरीहरू यस्तै भाग्यसाथ जन्मिए । गुडिरहेको बसमा जन्मिएका ती दुई बच्चीहरू यस अर्थमा भाग्यमानी ठहरिएका छन् कि उनीहरुले अब आफ्नो जिवनभर भारतमा बसयात्रा गर्दा भाडा तिर्नुपर्ने छैन ।

भारतको तेलंगना राज्यमा दुई भिन्नाभिन्नै ठाउँमा गुडिरहेका बसमा ती बच्चाहरू जन्मिएका हुन् । एकजना गत नोभेम्बर ३० मा महबुबनगर जिल्लाको पेद्दाकोथापल्ली गाउँ नजिकै भएको हो भने डिसेम्बर ७ मा सिद्धिपेट जिल्ला नजिकै गुडिरहेको बसमा अर्की शिशु जन्मिइन् ।

गुडिरहेका बसमा जन्मिएका ती दुई बच्चाीलाई सरकारले जीवनभर बसयात्रा नि:शुल्क गरिदिने घोषणा गरेको छ ।

तेलंगना राज्य सडक परिवहन निगमद्धारा ती सञ्चालित सार्वजनिक बसमा जन्मिएका ती बच्चीहरूलाई जन्मदिनको उपहार स्वरुप तेलंगना सरकारले आजीवन नि:शुल्क यात्राको पास प्रदान गरेको छ । उक्त निशुल्क पास भारतका सबै राज्यमा चल्ने बस तथा एयरपोर्ट बसमा समेत मान्य हुनेछ ।

निगमाका उपाध्यक्षले ट्विटरमा उक्त विषयमा ट्विट गरेका छन् । गुडिरहेको बसमा यात्रा गरिरहेका महिलालाई एक्कासी व्यथा लागेपछि बसका चालक, सहचालक तथा यात्रुहरूले सहयोग गरेको र सुरक्षितसाथ सुत्केरी गराएको उनले उल्लेख गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस