नेपाली कांग्रेसको सभापतिमा विजयी प्रधानमन्त्री देउवाको जीवनी

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ ।

प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले निकटतम् प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्नुभएको हो ।

पुनः मतदानमा निर्वाचनमा सभापति पदका पहिलो चरणका अन्य प्रत्यासी नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थनसहित देउवा विजयी हुनुभएको हो ।

यही मङ्सिर २४ गते महाधिवेशन उद्घाटन समारोहमा उहाँले आफूलाई पार्टी विधानअनुसार अन्तिम पटकका लागि सभापतिमा विजयी गराउन आह्वान गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले आफू पुनः सभापतिमा विजयी भएपछि आगामी तीनै तहका निर्वाचनमा पार्टीलाई विजयी गराएर तीनै तहमा कांग्रेसको सरकार बनाउने उद्घोष गर्नुभएको थियो ।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिनुभएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उहाँ हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ ।

विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उहाँ विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिउनु भएको हो । प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौँमा हासिल गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नुभएको छ ।

नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुनुहुन्छ । विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उहाँ २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस