अर्थमन्त्री शर्माको आक्रोश: अब भ्रष्टाचारीलाई छानीछानी भित्र कोचेर सम्पत्ति देशको नाममा गरिन्छ

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर सजिलै हासिल गर्न सकिने दावी गरेका छन्।

अर्थ समितिमा देशको अर्थतन्त्रको वर्तमान अवस्था र अर्थ मन्त्रालयका काम कारबाहीबारे बिहीबार जानकारी गराउँदै मन्त्री शर्माले यस्तो दावी गरेका हुन्। आफूलाई अर्थतन्त्र नबुझेको र आर्थिक सूचकबारे नबुझेरै बोलेको भन्दै आलोचना भएकोमा काम गरेर त्यसको जवाफ दिने शर्माले बताए।

अहिले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा देखिनुको कारण यसअघिको सरकारले लागू गरेका वित्तीय र मौद्रिक नीति नै प्रमुख कारण रहेको उनले बताए।

‘अर्थतन्त्र चुनौतिरहीत कहिल्यै हुँदैन। सधैं चुनौतिपूर्ण नै हुन्छ। अहिलेको अर्थतन्त्रको अवस्था भनेको हिजोको अर्थनीति र योजनाको परिणाम हो’, शर्माले भने ‘हामीले आजै अहिल्यै सबै कुरा सुधार्न सक्दैनौं। अहिले गरेको कामको नतिजा पछि देखिन्छ।’

अर्थतन्त्र नै नबुझेको भनेर भइरहेको आफ्नो आलोचनालाई पनि स्वभाविक रुपमा लिएको उनले बताए। यो आलोचना आफ्ना लागि ‘गरेर देखाउने’ चुनौतिका रुपमा लिएको उनले बताएका छन्।

‘को जान्ने, को नजान्ने भनिरहेका महासयहरूलाई पनि म हेरिरहेको छु। सरकारले आज अगाडि सारेका नीतिले पछि परिणाम देखाउँछ, ’शर्माले भने, ‘मासिक १० प्रतिशत खर्च गर्ने सरकारी योजनाको प्रकृया भर्खरै शुरू भएको छ। यो अभ्यास गर्ने कुरा हो । अभ्यासकै क्रममा छ।’

प्रतिकुल अवस्थाका बाबजुद पनि सरकारले ७ प्रतिशत को आर्थिक वृद्धिदर हासिल गर्ने उनको दाबी छ। अर्थमन्त्री शर्माले क्रेडिट ग्रोथ ३२ प्रतिशतसम्म बढ्नु, समग्र सरकारी खर्च गत वर्षको तुलनामा बढ्नु, कोभिडले थलिएका ९८ प्रतिशत उद्योग संचालनमा आउनु र मुद्रास्फिती पनि नियन्त्रणमै रहनुलाई आफ्नो उपलव्धिका रुपमा औंल्याए।

मन्त्री शर्माले अहिले राजस्व संकलन अनुरुप बजेट खर्च हुन नसकेकाले ऋण लिनपर्ने अवस्थामा सरकार नरहेको अर्थ समितिमा बताए।

‘अनिवार्य र आवश्यकता हुँदा मात्र ऋण लिने हो । अहिले आवश्यक छैन। राजस्व पर्याप्त उठेको छ,’ शर्माले भने। तर अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४ सय मिलियन र विश्व बैंकबाट ३ सय मिलियन अमेरिकी डलर ऋण लिने तयारी रहेको उनले बताए।

अहिलेको अर्थतन्तको मुख्य समस्या र चुनौती पुँजीगत खर्च हुन नसक्नु र बढ्दो आयात रहेकोमा यो समस्या पनि नियन्त्रित अवस्थामै रहेको उनले बताए।

‘ठूलो संकट छैन। समाधानको अवस्थाभित्रै छन्। यसै पनि अर्थ मन्त्रालय आफैं खर्च गर्ने निकाय होइन। खर्चको व्यवस्थापनमा सघाउने हो। अर्थतन्त्रलाई मजबुद बनाउनका लागि हाम्रो स्रोत साधनको अधिकतम प्रयोग हामीले गरिरहेका छौं’ शर्माले भने।

चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा बस्तु आयात ६१ प्रतिशत र निर्यात १०४ प्रतिशतले बढेको, विप्रेषणमा ६‍.७ प्रतिशतले कमी आएको र विदेशी मुद्रा सञ्चिति १३ खर्ब १९ अर्बमा खुम्चिएको तथ्यांक शर्माले समितिलाई जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस