विभिन्न देशबाट पक्राउ परेका ६०० ताइवानीलाई चीन पठाइयो’

एजेन्सी : विभिन्न देशमा पक्राउ परेका ६०० ताइवानीलाई चीनमा पठाइएको एउटा मानवअधिकारवादी समूहले जनाएको छ । मानवअधिकारवादी समूह सेफगार्ड डिफेन्डर्सले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । ताइवानको सार्वभौमसत्तालाई अवमुल्यन गर्न सो कदम चालिएको डिफेन्डर्सले चीनमाथि आरोप लगाएको छ ।

ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आएको छ । विभिन्न देशमा पक्राउ पारिएका आफ्ना नागरिकलाई ताइवानमै पठाउनु पर्ने ताइपेयले जनाउँदै आएको छ । तर, बेइजिङले भने ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ ।

सेफगार्ड डिफेन्डर्सले सन् २०१६ देखि सन् २०१९ सम्म सञ्चारमाध्यममा आएका रिपोर्टहरुका आधारमा सो प्रतिवेदन तयार पारेको हो ।

चीन पठाइएका ताइवानीको परिवार र वंश नभएको स्पेनमा रहेको सो संस्थाले जनाएको छ । उनीहरुमाथि विभिन्न मुद्दा लगाउन सक्ने पनि डिफेन्डर्सले चिन्ता व्यक्त गरेको छ । चीनले कुनै पनि देशमा पक्राउ परेका ताइवानीलाई आफ्नो देशमा सुपुर्दगी गर्नुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस