महिला इन्सपेक्टरले सडकमा खसेको ७ लाख रुपैयाँ देखेपछि……

काठमाडौं, गत २६ मंसिरका दिन घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मा घोराहीस्थित सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकाली घरतर्फ लागे । तर, घर पुग्दा उनीसँग रकमको झोला थिएन । रकम हराएपछि आत्तिएका उनले तुरुन्तै प्रहरीलाई जानकारी गराए ।

महानगरीय प्रहरी शिक्षालय काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिता महत साँझ ५ बजे अटो चढेर घोराही उपमहानगरपालिका-१० खैराबाट पूर्व घोराही बजार जाँदै थिइन् । त्यसक्रममा उनले सडकमा अनौठो दृश्य देखिन् । दृश्य कस्तो भने व्यस्त बीच सडकमा दुई युवा छिटोछिटो पैसाको बन्डल टिपेर झोलामा राख्दै थिए । ती युवा अलि आत्तिएको र हडबड गरिरहेको उनले ठम्याइन् ।

त्यसपछि उनले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिन् । ‘कतैबाट पैसा हराएको सूचना आएको छ ?’ उनको प्रश्न भुईंमा खस्न नपाउँदै जवाफ आयो- छ ।’ त्यसपछि हतार हतार सडकबाट त्यो पैसा टिप्नेहरूको पैसा नभएको निष्कर्षमा उनी पुगिन् । र एउटा जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्नतर्फ लागिन् ।

हटलाइन नम्बर उठाउने प्रहरी कर्मचारीसँग उनले जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको नम्बर मागिन् । मोटरसाइकल नम्बर पनि टिपाइन् । सोधखोजकै क्रममा मोटरसाइकल धनीको पहिचान खुलेपछि प्रहरीले लगत्तै तुलसीपुर १२ कचिलाका निमबहादुर चौधरीलाई सम्पर्क गर्‍यो । रकम फेला पार्ने निमबहादुरले सुरक्षित ढंगले राखेका थिए । भेटिएको रकम डीएसपी रिजाल र प्रहरी निरीक्षक महतले संयुक्त रूपमा धनी शर्मालाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस