८० भन्दा धेरै कुकुर मार्ने २ वटा बाँदर पक्राउ

काठमाडौं, महाराष्ट्रको बीडमा कुकुरका ८० भन्दा धेरै छाउराको हत्यामा संलग्न २ वटा बाँदरलाई नागपुर वन विभागको टिमले शनिबार पक्राउ गरेको छ । बीड फरेस्ट अफिसर सचिन कांडले दुवै बाँदरलाई समातेपछि उनीहरुलाई नागपुरको जंगलमा छाडिएको बताएका छन् । खासमा बीडमा बाँदर र कुकुरबीच ग्याङ फाइट चलिरहेको थियो जसका कारण यहाँका स्थानीय त्रसित थिए । यो ग्याङ फाइटमा ८० भन्दा धेरै कुकुरका छाउराको ज्यान गएको छ ।

स्थानीयका अनुसार पहिले कुकुरहरुले बाँदरको बच्चा मारिदिएका थिए । त्यसपछि उनीहरुबीच ग्याङ फाइट सुरु भएको थियो । स्थानीयका अनुसार विगत ३ महिनामा बाँदरहरुले ८० भन्दा धेरै कुकुरका बच्चा मारिदिएका थिए । कुकुर र बाँदरको यो झगडाले यहाँका स्थानीय त्रसित थिए । मुख्य जिम्मेवार २ बाँदर समातिएपछि स्थानीयले राहत महसुस गरेका छन् तर अहिले यी बाँदरलाई जंगलमा छोडिएको भए पनि यसको ठोस समाधान निकाल्नु जरुरी रहेको बताएका छन् ।

पाँच हजार जनसंख्या भएको यो क्षेत्रका स्थानीय बाँदर आतंकबाट हैरान थिए । उनीहरुका अनुसार बाँदरले बाटोमा हिँडिरहेका मानिसहरुलाई पनि आक्रमण गर्थे । बाँदर समूहमा कुकुरको बच्चा खोज्न आउँथे । छाउरा देखेपछि उठाएर आफूसँगै लिएर जान्थे । रुखमा चढ्ने क्रममा चोट लागेर र भोक प्यासका कारण छाउराहरुको मृत्यु हुन्थ्यो । वन विभागले स्थानीयको सूचनाको आधारमा घटनास्थलमा जाँदा कुकुरको बच्चा लिएर रुखमा बसेको बाँदर देखिएपछि समातेर जंगलमा लगेर छोडिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस