पानामा पेपर्स प्रकरणमा बलिउड अभिनेत्री ऐश्वर्या राय ….

भारतको भ्रष्टाचारविरुद्धको एउटा निकायले पानामा पेपर्स प्रकरणमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग सोधपुछ गरेको छ । भ्रष्टाचार विरोधी छानबिन गर्ने निकाय इनफोर्समेन्ट डाइरेक्टोरेट (इडी) ले पानामा पेपर्स प्रकरणमा अभिनेत्री रायलाई बोलाएको हो। गैरकानुनी ढंगले विदेशमा सम्पत्ती लुकाएको आरोपमा ४८ वर्षीया रायलाई सोधपुछ गरिएको हो ।

मुम्बईस्थित बच्चन परिवारको निवास ‘प्रतीक्षा’ मा सूचना पठाइएको थियो । उक्त सूचनामा १५ दिनभित्र जवाफ दिन भनिएको थियो । स्रोतका अनुसार ऐश्वर्या राय बच्चनले इमेल मार्फत ईडीलाई जवाफ दिएकी थिइन् ।

यद्यपि ऐश्वर्या रायले यसअघि पनि यी कागजातलाई झुटको बन्डल भनेकी थिइन् । यी कागजातहरूमा फिल्म स्टार र उद्योगपतिहरू सहित ५०० भारतीयहरूको नाम आएको थियो । यस पेपर लीकमा अमिताभ बच्चन र ऐश्वर्या राय लगायत धेरै भारतीय सेलिब्रेटीहरूको नाम थियो । सबैलाई कर छलीको आरोप लागेको थियो ।

यस प्रकरणमा नाम आएपछि अमिताभले भारतीय नियममा मात्रै विदेशमा पैसा पठाएको बताएका थिए । उनले पनामा पेपर्समा उल्लेख भएका कम्पनीहरूसँग कुनै सम्बन्ध नभएको स्पष्ट पारेका थिए । चर्चित अभिनेता अमिताभ बच्चनकी बुहारीसमेत रहेकी रायलाई यसअि पनि सो निकायले छानबिनका लागि बोलाएको थियो । तर, उनले केही समय माग गरेकी थिइन् ।

पानामा पेपर्स खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआइजे) ले सन् २०१६ मा सार्वजनिक गरेको एउटा दस्ताबेज हो । दस्ताबेजले कर छलि गर्न र कालो धन लुकाउन विश्वका धनाढ्यले अनियमित तरिकाले सम्पत्ति लुकाएको विषयलाई सार्वजनिक गरेको थियो । पानामा पेपर्स प्रकरणमा ३०० भारतीय जोडिएका छन् ।

आईसीआइजले विश्वका ७६ देशका १०० भन्दा बढी सञ्चार माध्यमहरुमा आबद्ध पत्रकारहरूको सहकार्यमा एक करोड १५ लाखभन्दा बढी कागजात अध्ययन गरेर दस्तावेज तयार गरेको थियो । विश्वका धनाढ्य एवं शक्तिशालीले कर छल्न के कस्तो हथकन्डा अप्नाउछन भन्ने बारेमा पानामा पेपर्सले एतिहासिक खुलासा गरेको थियो । आफ्नो सम्पत्ति ट्याक्स हेभेनका व्यवसायमा लगानी गरेको देखाएर विश्वका कयौं धनाढ्यले स्वदेशमा कर छली गर्नेदेखि कालो धनलाई सेतो बनाउने गरेको पानामा पेपर्सले खुलासा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस