हिटर प्रयोगले ज्यान पनि लिन सक्छ, त्यसैले यी कुरामा ध्यान दिन नभुलौं

केही दिनयता देशका सबैजसो भूभागमा चिसो बढेको छ । वायुको तापक्रम घट्दा केही दिन यता अलि बढी नै चिसो महसुस हुन थालेको मौसमविद्ले बताएका छन् । चिसो बढेसँगै तपाईं कोठा तातो पार्न हिटर प्रयोग गर्ने सोच्दै हुनुहुन्छ होला । जाडोमा घर, कार्यालय सबैतिर हिटरको प्रयोग हुने गरेको छ । चिसो याममा न्यायोपनका लागि हिटर उपयोगी भए पनि यसलाई प्रयोग गर्न नजान्दा दुःखदायी घटना समेत हुन सक्छ । त्यसैले हिटर प्रयोग गर्दा केही कुराहरुमा ध्यान दिन बिर्सनु हुन्न ।

चिकित्सकहरुका अनुसार झ्याल-ढोका बन्द गरी आगो ताप्ने वा हिटरको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले घातक हो । यसो गर्दा धेरैको ज्यान गएको चिकित्सकहरु बताउँछन् । त्यसैले विद्युतीय हिटरको साटो अन्य कुनै प्राकृतिक विकल्प प्रयोग गर्नु सबैभन्दा राम्रो हुन्छ । तर सबै ठाउँमा यो सम्भव हुन्न । त्यसैले विद्युतीय हिटर प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ । हिटर प्रयोग गर्दा कोठामा हावा खेल्न दिनुपर्छ नत्र यस्ता समस्या आउन सक्छन्, जसले ज्यान नै लिन सक्छ ।

१. हावाको ओसिलोपना सोस्छ
जब तपाईं हिटर खोल्नुहुन्छ, तब यसले तपाईंको वातावरणमा भएको ओसिलो हावालाई सोसिदिन्छ । हिटर धेरै प्रयोग गर्दा छाला सुख्खा हुने तथा चिलाउने समस्या आउन सक्छ । बालबालिकाको नरम र संवेदनशील छालाको लागि हिटर एकदमै नराम्रो कुरा हो ।

२. निस्सासिने बनाउँछ
श्वासप्रश्वासको समस्या भएकाहरुलाई हिटर प्रयोगले सास फेर्न अप्ठयारो बनाउन सक्छ । हिटर प्रयोग गर्ने हो भने सधैं नजिकै एक बाल्टिन पानी राखेर झ्यालहरु खुल्ला राख्नुहोस् ।

३. शरीरको तापमान तलमाथि बनाउँछ
हिटरको कृत्रिम तापमानमा बस्ने बानी तपाईंको शरीरलाई परेको छ भने जब तपाईं बाहिर जानुहुन्छ तब तपाईंको शरीरको तापमान अचानक गडबड हुन सक्छ । यस्तो बेला तपाईं बिरामी पनि पर्न सक्नुहुन्छ ।

४. आगो तथा चोटपटक लाग्न सक्छ
जब तपाईं हिटरमा धेरै लामो समयसम्म बस्नुहुन्छ तब तपाईंको शरीरको अंग जल्ने तथा चोटपटक लाग्ने सम्भावना हुनसक्छ । शरीरमा लगाएको कपडा पनि जल्न सक्छ ।

५. यी कुरामा ध्यान दिनुस्
हिटर प्रयोग गरिसकेपछि यसलाई टर्न अफ गर्न नबिर्सनुहोस् । यसको माथि कुनै पनि वस्तु नराख्नुहोस् । हावामा ओसिलोपनाको सन्तुलन कायम गर्न बाल्टिन भरि पानी राख्नुहोस् । हिटर प्रयोग गर्न पावर कर्ड एक्सटेन्सन अर्थात मल्टिप्लग प्रयोग नगर्नुहोस् । हिटर बालिएको ठाउँमा ससाना बाबुनानीलाई एक्लै नछाड्नुस् । सकेसम्म हिटर उनीहरुले नपुग्ने ठाउँमा राख्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस