कञ्चनपुरमा वडा कार्यालय विवाद मिलाउन भनी रक्सी खाएर पुगेका वडा सदस्य प्रहरी नियन्त्रणमा

कञ्चनपुर। कञ्चनपुरको वडा कार्यालयमा विवाद मिलाउन भनी रक्सी खाएर पुगेका वडा सदस्य प्रहरी नियन्त्रणमा लिइएको छ। निर्माणका लागि टेण्डर समेत भइसकेको विकास बजेट अन्तै सारिएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाको ८ नम्बर वडा कार्यालयमा स्थानीयले मंगलवार तालाबन्दी गरेका थिए।

विवाद मिलाउन भनी रक्सी खाएर पुगेका वडा सदस्य जयबहादुर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।यसैबीच, नशामा मात्तिएर होस गुमाएका वडा सदस्य भण्डारीलाई प्रहरीले वडा कार्यालय परिसरबाट घिसार्दै लगिएको थियो।

स्थानीय जनप्रतिनिधिले वडाको शान्तिपुर र मजगाइ जोड्न नालामा बन्ने पुलको बजेट भित्रभित्रै अन्तै सार्न खोजेको स्थानीयको दुखेसो छ। त्यसैले विरोधमा उत्रिएको स्थानीय जगतराम चौधरीले बताए ।

स्थानीय चौधरीले पुल निर्माणको टेण्डर समेत भइसकेको र तोकिएको स्थानबाट ८ नम्बर वडाको बालुवाघाटमा सार्न खोजिएकाले आफूहरूले कुनै पनि हालतमा सार्न नदिने बताए । तर वडाध्यक्ष अमरसिंह बडायकले विवादको कारण आफूले बुझ्न नसकेको बताए ।

यद्यपि छलफल जारी रहेको बताउँदै वडाध्यक्ष बडायकले कसैले चाहेर पनि बजेट सार्न नमिल्ने उल्लेख गरे । कृष्णपुर नगरपालिकाले पुल निर्माण गर्न ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस