११ लाखको पनि सम्पति नभएका यादवलाई ११ करोड रुपैयाँ राजस्व छलीको मुद्दा, परिवारमा रुवाबासी

११ लाखको पनि सम्पति नभएको धनुषा जिल्लाका एक युवकमाथि ११ करोड रुपैयाँ राजश्व छलीको आरोप लागेको छ । प्रदेश नम्बर २ को धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैया बस्ने रामभरोस यादवको ३० बर्षिय छोरा राम सरोज यादवमाथि ११ करोड रुपैयाँ राजस्व छलीको आरोपमा उच्च अदालतमा मुद्दा दायर भएको छ ।

करिब ८ बर्षअघि नै बैदेशिक रोजगारीमा गएका यादव ४ बर्ष विदेश बसेर घर फर्केका थिए । घर फर्केपछि केही महिनामै उनको घरमा राजस्व अनुसन्धान विभागबाट उपस्थितिको लागि पत्र आयो । पढन लेख्न नजान्ने उनको बुवाले सो पत्रबारे स्थानीय नेतालाई जानकारी गराए ।

तर, ती नेताबाट केही नभएपछि उनीहरु पनि चुप बसे । कागजमा खास के थियो भन्ने बारे उनको घर परिवारलाई केही थाहा नभएर उनीहरुले चासो लिएनन् । यहाँसम्म की एकपटक कागज आएको र कसैको गलतीले आफू कहाँ कागज आएको हुनुपर्ने सोझा उनका घर परिवारले सो कागजलाई त्यतिकै घरमा राखिदिए ।

उनको घरमा गत २०७६ साल माघ १० गते राजस्व अनुसन्धान विभागबाट पत्र आएको थियो । सो पत्रमाथि कुनै ध्यान दिँदा उनको घरमा पुनः एकपटक पत्र पठाईको रामसरोजको बुवा रामभरोस यादवले बताए । तर, त्यही कागज फेरी आउँदा कुनै फाईदाको चिज हो की भनेर सो कागजलाई घरमै राखे ।

सोही कागज लिएर कमला नगरपालिकास्थित रहेको न्यूज ब्यूरोको शाखामा रामसरोज यादवले पढन लगाए । सो कागज पढेपछि उनलाई राजस्व अनुसन्धान विभागबाट पत्र आएको बताइयो । त्यतिबेलासम्म किन पत्र आएको भनेर यकिन गर्न सकिएनन् ।राजस्व अनुसन्धान विभागमा सम्पर्क गरी बुझ्दा उनको नाममा तीनवटा कम्पनी खडा भएको पाईयो ।

जसको बैँक खातामा समेत उनकै नाम रहेको पाइयो । राजस्व अनुसन्धान विभागका कर्मचारी अर्जुन खतिवडाले रामसरोजमाथि उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको सुनाए । सोही क्रममा खतिवडाले रामसरोजमाथि ११ करोड रुपैयाँको राजस्व छली आरोपमा मुद्दा दायर भएको जानकारी दिए ।

सोही कुरा रामसरोजलाई बताएपछि उनको घरमा रुवाबासी सुरु भयो । अति विपन्न परिवार रहेको रामसरोजको सम्पति ११ लाखको पनि छैनन्, तर ११ करोडको राजस्व छलीको मुद्दामा मुछिएपछि उनीहरु राम्ररी खाना खान पाएका छैनन् । २ छोराछोरी समेत रहेको रामसरोज भर्खरै एक महिना अगाडी विदेशबाट आएका थिए ।

निरन्तर ८ बर्षदेखि वैदेशिक रोजगारीमै रहेको रामसरोजको नागरिकता लिएर कसैले तीनवटा फर्म सँचालन गरी नक्कली भ्याट बिल पेश गरेको आरोप छ । उनीमाथि हिमालयन नेपाल सप्लायर्स, जिमी सप्लायर्स र युनिक नेपाल सप्लायर्स प्रा.लि. को बैँक खाता सँचालकमा उनको नाम पाईएको छ ।

तीन तीनवटा फर्मको बैँक खाता सँचालकमा उनको नाम पाएपछि राजस्व अनुसन्धान विभागले उनीमाथि मुद्दा दायर गरेको हो । आफ्नो हस्ताक्षर समेत राम्ररी गर्न नजान्ने रामसरोज विदेश गएको बेला एजेन्टलाई दिएको कागजात दुरुपयोग हुन सक्ने अनुमान गरिएको छ । पहिलो छुट्टीमा आउँदा उनको नाममा फर्महरु सँचालन भएको पाईएको छ ।

विदेशबाट घर फर्कदाँ रामसरोजले एक मनि ट्रान्सफरमा उनले आफ्नो नागरिकता दिएको सम्झे । काठमान्डौँको गौशालास्थित रहेको एक मनि ट्रान्सफरमा उनले नागरिकता दिएको सम्झन्छन् । यद्यपी, पासपोर्ट र अन्य कागजातहरु भने एजेन्टलाई दिएको उनले बताए । तर, उनको कागजातको दुरुपयोग कसले गरिदियो उनलाई नै थाहा छैनन् ।

प्रदेश नम्बर २ को बाराको परवानीपुर जस्तै घटना धनुषाको रामसरोज यादवसँग भएको छ । उनलाई पनि कसैले उनको नागरिकता लिएर फँसाइदिएको पाइएको छ । निमुखा परिवारका एक्लो छोरा हुन् रामसरोज यादव। तर विडम्बना, उनी करिब ११ करोड रुपैयाँ कर छली गरेको आरोपमा अहिले तनावमा छन् ।

प्रधानमन्त्रीको कार्यालयमातहत रहेको राजस्व अनुसन्धान विभागले गरेको ‘अनुसन्धान’ मा आधारित भएर उच्च सरकारी वकिलको कार्यालयले उनीमाथि नक्कली भ्याट बील पेश गरेको आरोप सहित उच्च अदालत पाटनामा मुद्दा दायर गरेको छ । उनको घरमा सुरुमा पत्र आउँदा उनको बुवाले नेता रामचन्द्र झा कहाँ पुगेका थिए ।

तर, रामचन्द्र झाले खासै चासो लिएनन र समयमा कसैलाई कागजातबारे जानकारी समेत नदिँदा मुद्दा दायर हुन गएको परिवारजनको आरोप छ । सोही प्रकरणमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मुरलीचोक बस्ने नवनीत झा र जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० बस्ने प्रकाश मिश्रमाथि पनि मुद्दा दायर गरिएको छ ।

रामसरोजको कागजात उनीहरुले दुरुपयोग गरेको हुन सक्ने आशँका गरिएको छ । यद्यपी, यसको पुष्टि अझै भएको छैनन् । विभागले उनी दुई जनालाई पनि खोजिरहेको छ । विदेश जाँदा आफ्नो कागजातहरु एजेन्टलाई बुझाउने, कुनै बैँकमा दिँदा दुरुपयोग हुने, मनि ट्रान्सफरमा दिँदा पनि दुरुपयोग भएको हुन सक्ने आशँका गरिएको छ ।

तर, उनको नाममा बैँकमा खाता भएकोले उनी आफू केही पनि नगरेको विश्वस्त छन् । उनको अहिलेसम्म कुनै पनि बैँकमा खाता नखोलाएको दाबी गर्छन् । भएभरको रकम पनि साथी मार्फत वा रेमिट मार्फत मात्र पठाउने गरेको बताए । उनीसँग आफू ८ बर्षदेखि विदेश रहेको प्रमाण, विदेशको आईडीकार्ड, पासपोर्टमा भिसा लागेको मिति, आवतजावन मिति सहितको प्रमाण सुरक्षित राखेका छन् ।

उनले बैँकमा आफ्नो नाम भएको सिसिटिभीमा हेर्न आग्रह गरे । उनले भने, –“यदि कहिले बैँक पनि गएको छु भने मेरो अनुहार त सिसिटिभीमा कैद भएको हुनुपर्छ । कि त यो फर्महरुमा बैँक खाता भएको मान्छे पैसा झिक्न को गएको छ त्यति बेला नै साबित हुन्छ ।

बैँकमा पैसा झिक्न को गयो ? त्यसको छानबिन सोही मितिमा गरे मलाई फँसाउने व्यक्ति समातिन्छ ।”यद्यपी, कुन बैँकमा खाता रहेको राजस्व अनुसन्धान विभागले खुलाएको छैनन् । उनलाई आएको पत्रमा उनको हजुरबुवाको नाम पनि गलत रहेको बताइएको छ ।

उनको हजुर बुवाको नाम भुला यादव रहेपनि पत्रमा राम स्नेही यादव रहेको बताएका छन् । राजस्व अनुसन्धान विभागले उनीमाथि ११ करोड राजस्व छलीको मुद्दा चलाएको हो । उनको परिवारजनमा अहिले रुवाबासी चलेको छ । न्यूज ब्यूरो

प्रतिक्रिया दिनुहोस