काठमाडौं कोटेश्वरबाट अचम्मका ब्यक्ती पक्राउ ! स्वयम्भु, सीतापाइला, तीनकुने, कागेश्वरी, मूलपानी सबै ठाउँमा भ्याएछन

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न आठ स्थानमा श‍ृंखलाबद्ध रुपमा चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका-४ घर भइ काठमाडौं कोटेश्वर बस्ने ३१ वर्षीय कमल थापामगर छन्।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार कोटेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका थापामगरलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

उनको साथबाट प्रहरीले एक थान मोबाइल, चोरी गर्नका लागि ढोकाको ताला फोड्न प्रयोग गर्ने दुई थान रड, चोरी गर्दा लगाएको ज्याकेट एक थान, चोरी गर्दा प्रयोग गरिएको झोला एक थान र नगद दुई हजार रुपैयाँ बरामद गरेको छ।

काठमाडौं उपत्यकाभित्र रातको समयमा विभिन्न सहकारी तथा वित्तीय संघसंस्थाहरु र दिनको समयमा मानिसहरु घरमा नभएको मौका पारी ढोका फोडेर उनले नगद तथा सुनचाँदीका गरगहना चोरी गर्दै आएको प्रहरीले जनाएको छ।

महाशाखाका अनुसार उनले २०७७ साल मंसीर १९ गते राति मूलपानीस्थित देवी बचत तथा ऋण सहकारी संस्थाबाट नगद तथा ल्यापटप समेत गरी २ लाख बराबरको धनमाल चोरी गरेका थिए ।

त्‍यसपछि २०७७ साल फागुन ७ गते काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित जुनार हिलटप सहकारी संस्थाबाट नगद १ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ । यस्तै २०७७ फागुनमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित रुपेश गलानको घरमा कोही नभएको मौका पारी नगद तथा सुनचाँदीका गरगहनासमेत गरी ४ लाख ८० हजार बराबरको धनमाल उनले चोरी गरेको प्रहरीले बताएको छ ।

यसैगरी २०७७ फागुन १९ गते राति कागेश्वरी मनोहरा-७ स्थित दिदीबहिनी सहकारी संस्थाको मूल ढोका फोडेर मगरले नगद २ लाख १० हजार चोरी गरेर लगेको प्रहरीको दाबी छ ।

यस्तै उनले गत वैशाखमा सीतापाइलास्थित विश्‍वनाथ खनालको घरबाट नगद तथा सुनचाँदीको गरगहनासमेत गरी ३ लाख १० हजार बराबरको धनमाल चोरी, असार १९ गते सीतापाइला बुद्धटोलस्थित कृष्ण लामाको घरमा कोही नभएको बेला नगद तथा सुनचाँदीका गरगहना गरी अन्दाजी ४ लाख ३० हजार चोरी गरेको लगेको, असार २४ गते स्वयम्भूस्थित आरक्ष बचत तथा सहकारीको ढोका फोडेर नगद तथा सुनचाँदीका गहरहना गरी १ लाख २३ हजार तथा नागार्जुन नगरपालिका-४ सीतापाइलास्थित शिवप्रसाद लामिछानेको घरमा कोही नभएको बेला नगद तथा सुनचाँदीका गरगहना गरी १५ लाख बराबरको धनमाल चोरी गरेर लगेको उजुरी परेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस