भक्तपुरको गठ्ठाघरबाट १८ वर्षीय किशोर पक्राउ ! यो उमेरमै गरेछन बिश्वासनै नलाग्ने यस्तो काम

काठमाडौं, २० पुष । विभिन्न व्यक्तिहरुको फेसबुक अकाउन्ट ह्याक गरेर रकम ठगी गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

सर्वसाधारणदेखि उच्चपदस्थ व्यक्तिहरुको फेसबुक अकाउन्ट ह्याक गरी आइडिको दुरुपयोग गर्दै उक्त आइडिमा भएका मानिसलाई विभिन्न बहाना बनाएर रकम माग गरी ठगी गरेको आरोपमा प्रहरीले किशोरलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका वडा नं-१० मंगलबारे घर भइ हाल भक्तपुरको गठ्ठाघर बस्दै आएका १८ वर्षीय किशोर किरण पाठक रहेका छन्। महानगरीय अपराध महाशाखाका अनुसार उनले ह्याक गरेको आइडिमा रहेका मानिसलाई विभिन्न बहाना बनाएर आफूलाई अर्जेन्ट समस्या परेको भन्दै विश्वास दिलाएर पैसा पठाउन लगाउँदै आएका थिए।

घटनाको जानकारी पश्चात अनुसन्धान गर्दै आएको प्रहरीको टोलीले उनलाई आइतबार साँझ अन्दाजी ५:३० बजेको समयमा पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि ठगी सम्बन्धी कसुरमा थप कारवाहीका लागि महानगरीय प्रहरी परीसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

यस्तै, महानगरीय अपराध महाशाखाले अदालतबाट ११ दिन कैद र ३२ लाख जरिवाना तोकेपछि फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची मालारानी गापा-३ घर भई हाल काठमाडौँ नयाँबानेश्वर बस्ने ३८ बर्षीय कृष्णहरी खनाल रहेका छन्।

महाशाखाले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनले ३२ लाख २४ हजार ६१५ जरिवाना गरेपछि फरार रहेका खनाललाई आज पक्राउ गरी सार्वजनिक गरेको हो ।

महाशाखाका अनुसार उच्च अदालत पाटनको विसं २०७७ भदौं १८ गतेको फैसलापछि ११ दिन कैद र बिगोबमोजिम ३२ लाख २४ हजार जरिवानापछि फरार रहेका खनाल बुद्दनगरबाट पक्राउ परेका हुन्।

पक्राउ परेका खनालले आफ्नो बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै पीडित व्यक्तिलाई झुक्यानमा पारेर पैसा नभएको चेक दिइ बैंकिङ कसुरजन्य अपराध गरेको अदालतको ठहर थियो।

उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेका खनाललाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस