पाइलटले विमानमा गरेको घोषणा सुनेर उडानमा रहेकी एक युवती लाजले भुतुक्कै भएको भिडियो बन्यो चर्चित

काठमाडौं । आफ्नै प्रेमी पाइलटले विमानमा गरेको घोषणा सुनेर उडानमा रहेकी एक युवती लाजले भुतुक्कै भएको भिडियो अहिले चर्चित छ । इन्टरनेटमा भाइरल यो भिडियोलाई अहिलेसम्म एक करोडभन्दा धेरै पटक हेरिसकिएको छ ।

पाइलट प्रेमीले विमानमा पहिलो पटक चढेकी आफ्नी गर्ल्फ्रेन्डको बारेमा गरेको घोषणाले उनलाई अन्य यात्रु समक्ष लज्जित हुनु परेको थियो । यो भिडियोलाई टिकटकमा सेयर गर्दै हना नामकी एक युवतीले लेखेकी छन्, ‘जब तपाईं पहिलो पटक आफ्नो ब्याइफ्रेन्डको विमानमा उडान भर्नुहुन्छ…’

विमानमा बसेका यात्रुलाई जरुरी सूचना दिनुअघि पाइलटले भनेका थिए- ‘हामीसँग एक जना विशेष व्यक्तिले यात्रा गर्दै छन्, जो मेरी प्रेमिका हुन्, उनको नाम हना हो र उनी सीट नम्बर २’सी’मा बसेकी छन् । त्यसैले, तपाईहरूको यात्रा समाप्त भएपछि मेरो एक काम गरिदिनु होला ।’

त्यसपछि पाइलट ब्वाइफ्रेन्डले आग्रह गर्दै भने, ‘फिस्ट बम्प, हाइ फाइव वा आफ्नो स्न्याक्स, पानीको बोतल दिनुहोस् । धन्यावाद् । हामीसँग यात्रा गर्नु भएकोमा र मास्क लगाउनु भएकोमा धेरै धन्यावाद् । हामी छिटै टेक-अफ गर्नेछौं ।’

यो रोमाञ्चक भिडियोको क्याप्सनमा ती युवतीले लेखेकी छिन्- ‘यो भिडियोलाई रिप्लाई गर्दै मेरा बुबाले भन्नुभयो- कम्तिमा उसले पर्पोज त गरेन । तर, मेरो इच्छा उसले पर्पोज गरोस् भन्ने थियो ।’ करोडभन्दा धेरै पटक हेरिएको यो भिडियोप्रति सामाजिक सञ्जालमा अनेक-अनेक प्रतिक्रिया आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस