बाँकेमा बाघ आतङ्क : तीन महिनामा तीन जनाको लियो ज्यान

बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ ।बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ ।

यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ ।

बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो । बाघको पञ्जाबाट उम्किएर बच्न सफल उनको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राले चोट लागेकोे छ । केही दिनअघि राप्तीसोनारीका वडा नं ५ र ६ को जङ्गलमा मोटरसाइकलमा सवार एक शिक्षकलाई बाघले झम्टेको थियो ।

बिहीबार राप्तीसोनारी–४ स्थित स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आक्रमण गरेको थियो । विष्टलाई बाघले आक्रमण गरेपछि भागेर आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा जाँदा बाघले विष्टलाई खाइरहेको अवस्थामा भेटिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

उनका अनुसार प्रहरी घटनास्थल पुग्दा बाघले मान्छेलाई खाइरहेको थियो । होहल्ला गर्दा पनि नभागेको बाघलाई प्रहरीले दुई राउण्ड फायर गरेर अलिकति टाढा भगाएर शव लिएर आएको थियो ।

प्रतिक्रिया दिनुहोस