ब्यथा लागेर अस्पताल लगिएकी राधिका मृत्यु, परिवार भन्छन् : यो लापरबाही हो !

काठमाडौ । नियमित चेकजाँचको क्रममा आमा र बच्चा स्वास्थ्य छ भनिएकी एक महिलाको चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन जाँदा मृत्यु भएको छ । तीन दिन अघि अस्पताल भर्ना भएकी पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं। ८ की ३३ वर्षीया राधिका थापाको मृत्यु भएको हो । उनलाई चिकित्सकहरुले नर्मल डेलिभरी गराउने भन्दै दुई दिन सम्म अस्पतालमै राखेका थिए ।

पुष २६ गते घरमै ब्यथा लागेर अस्पताल लगिएकी उनको २८ गते सम्म पनि बच्चा भएको थिएन । भर्ना गरेर राखिएकी राधिकालाई भेट्न परिवारका अन्य सदस्यलाई समेत दिइएको थिएन । तर विहान साढे ८ बजेसम्म ठिकठाक नै रहेकी राधिकाको अचानक मृत्यु भएको भनिएपछि आफन्तहरुले चिकित्सकको लापरवाही भनेका छन् । राधिकाका दाजु तारा थापाले बताए अनुसार भर्ना गरेर राखेकी राधिकालाई कुनै चिकित्सकले हेरेका थिएनन् । वेडमा छटपटिएर भुइमा लडेर वेहोस भएपछि मात्र नर्सहरुले उनलाई आइसियुमा लगेका थिए ।

आफन्तलाई भित्र जान नदिएका कारण उनी कसरी भुइमा लडिन् आफुहरुले नदेखेको ताराले बताए । तर सोही वार्डका अन्य विरामीले बताए अनुसार राधिका बेडवाट लडेर मुखवाट रगत बगेको थियो भने उनी वेहोस भएकी थिइन् । विहान साढे ८ बजेसम्म ठिकठाक नै रहेकी राधिकाको अस्पतालले सुत्केरी गराउने क्रममा लापरबाही गरेकाले मृत्यु भएको बताए । हतार हतार भेन्टिलेटरमा लगेको केही बेरमै चिकित्सकले मृत भएको घोषणा सुनाएका थिए ।

राधिकाका श्रीमान जापानमा छन् । राधिकाले गर्भको बच्चा नियमित जाँच गर्दै आएकी थिइन । पुस २४ गते सुत्केरी गराउने मिति नियमित चेकजाँच गर्दै आएका प्रसूति रोग डाक्टर लोकबहादुर सेढाइले दिएका थिए । २२ गते स्थानिय अस्पतालमा गर्भ जाँच गर्दा सबै नर्मल छ दुई दिनमा सुत्केरी हुन्छिन् भनिएको थियो ।

अस्पताल र चिकित्सकको लापरवाहीका कारण वहिनीको निधन भएको भन्दै आफुहरुले शव बुझ्न इन्कार गरेको दाजु ताराले बताए । उनले आफुहरुलाई क्षतिपुर्ती होइन अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने माग राखेको बताएका छन् । उनले भरतपुर अस्पतालको प्रसूति विभागमा चरम लापरबाही हुने गरेको बताए ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। कृष्ण पौडेलले सुत्केरी गराउन आएकी राधिकाको मुटुको नशामा एक्कासी रगतको प्रेसर परेर मृत्यु भएको दाबी गरे । डा। पौडेलले राधिकाको उपचारमा अस्पतालको तर्फबाट लापरबाही नगरेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस