काठमाडौँबाट मुग्लिन जाने गाडी कुरेर बसेका तामाङ र परियार पक्राउ

२ माघ, काठमाडौं । धादिङको गजुरी गाउँपालिका-२ मलेखु बजारबाट दुई जनालाई प्रहरीले शनिवार बिहान पक्राउ गरेको छ।

प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी सहायक निरीक्षक सन्तोष खड्काको टोली पैदल गस्ती गर्दै जाने क्रममा मलेखु बजारबाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका-२ मजुवाडाँडा बस्ने २१ वर्षीय सुन्दर तामाङ र सोही ठाउँका १९ वर्षीय किसान परियार रहेका छन्। पैदल गस्ती गर्दै जाने क्रममा पृथ्वी राजमार्गबाट ताल्ती जाने सडकखण्डबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

तामाङले बोकेको पछाडि भिर्ने झोलाभित्र चार किलो २०० ग्राम र परियारले बोकेको कालो लेदरको जस्तो देखिने पछाडि भिर्ने झोलाभित्र तीन किलो ९३० ग्राम लागुऔषध गाँजा फेला परेकाले लागुऔषध गाँजा बरामद गरी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

पृथ्वी राजमार्गबाट ताल्ती आउने जाने सडकखण्डमा पृथ्वी राजमार्गको दक्षिण किनारामा झोला बोकी काठमाडौँबाट मुग्लिनतर्फ जाने गाडी कुरी बसिरहेको अवस्थामा प्रहरी टोली देखेपश्चात शङ्कास्पद व्यवहार देखाएकाले उनीहरूले बोकेको झोला र शरीरसमेत खानतलासी लिँदा लागुऔषध फेला परेको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरूलाई प्रतिबन्धित लागुऔषध ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस