काठमाडौं उपत्यकामा करिब दुई सय गुन्डा सक्रीय(सूचीसहित)

काठमाडौं – प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार काठमाडौंमा मात्रै १३३, ललितपुरमा ३४ र भक्तपुरमा २४ जना गुण्डागर्दीमा संलग्न रहेका छन् ।

प्रहरीको तथ्याङ्क अनुसार काठमाडौंमा मात्रै १६ जना ‘क’, ५६ जना ‘ख’ र ४० जना ‘ग’ श्रेणीका गुण्डा छन् । बौद्ध, गौशाला, महाराजगञ्ज र बानेश्वर क्षेत्रमा मात्रै ६५ गुण्डा सक्रिय छन् । जस मध्ये दावा लामा, विष्णु लामा, सूर्य लामा, बुद्ध लामा, झिंगे भनिने सञ्जय लामा, विकास लामा, मोहन लामा, शंकर श्रेष्ठ, विकास राई, दिनेश राई, दिलु लामा, सानो सगनु भन्ने भुमबहादुर श्रेष्ठ, सगुन श्रेष्ठ (ठुलो)लगायतका व्यक्तिहरू कांग्रेससँग आवद्ध छन् ।

सञ्जय लामा अर्थात झिङ्गे बौद्धलाई आधारक्षेत्र बनाएर गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् । सिन्धुपाल्चोकका तरुण दल उपाध्यक्ष समेत रहेका श्रेष्ठ पछिल्लो समय आफ्नो आपराधिक ग्याङलाई मजबुत बनाउन झिङ्गेसँग मितेरी साईनो गाँसेर आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले केहि समअघि मात्र सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ स्थित गुम्बा गाउँमा स्थानीय पासलाल तामाङमाथि उनिकै ज्वाईं पर्ने आयुस तामाङलाई सुपारी दिएर खुकुरी प्रहार गर्न लगाएको खुलेको थियो । अहिले आयुस तामाङलाई प्रहरीले पक्राउ गरिसकेको छ भने झिंगे फरार छन् ।

चाबहिल क्षेत्रका पुराना गुन्डा नाइके राजु गोर्खाली पहिला एमाले निकट थिए । अहिले कांग्रेसको महाधिबेशन प्रतिनिधि चुनिएका छन् । जोरपाटीका गुण्डा प्रकाश गोले पनि नेकपा एमालेसँग जोडिएका छन् । नारायणटारका लम्बु निमा शेर्पा, आशिष राई, महाराजगञ्जका तेजेन्द्र गुरुङ, अमृतमान लामा, अमित लामा, सूर्य गुरुङ, विशाल गुरुङ, अर्जुन गुरुङ र निरज लामा पनि एमालेसँग आबद्ध छन् ।

महाराजगञ्जका पुराना गुण्डा चक्रे मिलन भनिने मिलन गुरुङ पनि नेकपा एमालेसँग नजिक छन् । उनी ठेक्कापट्टा, टेण्डर र मिटरब्याज सम्बन्धी कारोबारमा सक्रिय रहेको प्रहरी अभिलेखले देखाउँछ । त्यसैगरी गोंगबुका हापा गुरुङ पनि एमाले निकट छन्् । प्रहरी अभिलेख अनुसार, गुण्डागर्दीमा सक्रिय गौरीघाटका गोपाल थापा र सिफलका प्रतीक हवल्दार श्रेष्ठ माओवादी केन्द्र निकट छन् । राप्रपाका राम श्रेष्ठ पनि गुण्डागर्दीमा संलग्नको सूचीमा छन् ।

सोह्रखुट्टे, जनसेवा, बालाजु, कमलपोखरी र दरबारमार्ग क्षेत्रमा ६३ जना गुण्डागर्दीमा संलग्न रहेको प्रहरीको अभिलेखले देखाउँछ । तीमध्ये अधिकांशको राजनीतिक आस्था खुलेको छैन । तर उनीहरू कुनै न कुनै दलसँग निकट रहेको काठमाडौं प्रहरीका एक अधिकृत बताउँछन् ।

स्वयम्भू आसपासका क्षेत्रमा पाँच जना गुण्डा सक्रिय रहेको प्रहरीको अभिलेखमा छ । तीमध्ये तीन जना नेपाली कांग्रेस र एकरएक जना माओवादी र एमालेसँग जोडिएका छन् । बाघे भनिने शुक्रबहादुर लामा, समिरमान सिंह बस्नेत र विकेश भन्ने सत्यमान लामा नेपाली कांग्रेससँग जोडिएका छन् ।

सीतापाइलाका तुलसी मगर माओवादी र ह्वाइट गुम्बाका चन्द्रबहादुर तामाङ एमालेसम्बद्ध गुण्डा हुन् । पाँचै जनालाई काठमाडौं प्रहरीले ‘क’ वर्गको गुण्डाको सूचीमा राखेको छ । ललितपुर प्रहरीको सूची अनुसार जिल्लामा ३४ गुण्डा नाइके छन् । उनीहरूमध्ये चापागाउँका मीनकृष्ण महर्जन नेपाली कांग्रेससँग जोडिएका छन् । अन्यको राजनीतिक आस्था खुलेको छैन ।

भक्तपुरका सरोज र बाबु थापा राप्रपासँग जोडिएका छन् । दुवाकोटका अनिल थापा, कटुन्जेका दीपक थापा, वसन्त लामा, ठिमीका जीवन श्रेष्ठ, सरेन्द्र दुवाल नेकपा एमाले निकट छन् । सुरेश लामा, बमबहादुर श्रेष्ठ, किशोर नेपाल, सतिश श्रेष्ठ, रवि राना, तेज डंगोल, बमबहादुर श्रेष्ठ, गौरी गुमाञ्जु, दिनेश लामा, रञ्जन सैजु, विष्णु चौगुठी र सतिश धौबन्जार नेपाली कांग्रेस निकट छन् । भक्तपुर–१६ का उज्ज्वल अवाल र बागेश्वरी–१ का रामप्रसाद मास्के नेपाल मजदूर किसान पार्टीसँग निकट छन् ।

प्रतिक्रिया दिनुहोस