महंगोमा बाहीर बेच्नका लागि सिटामोल लुकाउने फार्मेसीलाई १० हजार जरिवाना

काठमाडौं । कोरोना संक्रमणको समय माग अत्यधिक बढेको मौकामा सिटामोल लुकाउने फार्मेसीलाई १० हजार जरिवाना तिराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अभाव भएको भन्दै बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने सातदोबाटोस्थित गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई सो रकम जरिवाना तिराइएको हो ।

ग्राहकलाई सिटामोल छैन भनेको फार्मेसीको गोदामा हेर्दा सिटामोल भेटिएपछि तत्काल कारवाही गरिएको विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलको भनाई छ ।

केही दिनदेखि बजारमा सिटामोलको माग उच्च भएपछि फार्मेसीले छैन भन्दै ग्राहक फर्काउन थालेको सर्वसाधरणबाट गुनासो आएपछि चेकजाँच थालिएको उनले बताए ।

मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधी जस्तो संवेदनशील वस्तुको कार्टेलिङ गरेको आरोपमा विभागले फार्मेसीलाई तत्काल १० हजार जरिवाना तिराउन द्रुत निणर्य गरेको हो ।

केही दिनयता ज्वरोको बिरामी बढेका कारण बजारमा अहिले सिटामोलको माग उच्च छ ।माग बढेको बेला फार्मेसीमा लुकाएर बाहीर महंगो मूल्यमा बेच्ने प्रचलन बढेको गुनासो समाधान गर्नकै लागि अनुगमन थालिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस