काठमाडौं उपत्यकामा देखियो डरलाग्दो सङ्केत

इरसको संक्रमण जोखिम नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा निषेधको नयाँ आदेश जारी गरिएको छ। उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुरका) प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले गरेको निर्णयानुसार थप कडाइका प्रावधानसहित नयाँ आदेश जारी गरिएको हो।

शुक्रबार राति १२ बजेपछि (शनिबार)देखि लागू हुने नयाँ आदेशमा काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक तथा निजी (दुई पाङ्ग्रेसहित) सवारी साधनमा समेत जोरबिजोर प्रणाली लागू हुने छ। जसअनुसार जोर गते जोर र बिजोर गते बिजोर नम्बर भएका सवारीका साधन मात्रै चल्न पाउनेछन्।

नयाँ आदेशमा व्यापार व्यवसाय सञ्चालनको हकमा पनि केही कडाइ गरिएको छ। अब सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसलमा एक पटकमा २० जनाभन्दा बढी जम्मा हुन पाइने छैन।

एक सातामा भाइरसको सक्रिय संक्रमित ह्वात्तै बढेको छ । देशभर बिहीबारसम्म ५७ हजार सक्रिय संक्रमितमध्ये ६५ प्रतिशत उपत्यकामा रहेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दैनिक नयाँ संक्रमित थपिएको मध्ये ५४ प्रतिशत बढी काठमाडौं उपत्यकामा देखिएको छ ।

नेपालमा देशभर बिहीबारसम्म ५७ हजार ३ सय २८ जना संक्रमितमध्ये उपत्यकामा मात्रै ३७ हजार ९३ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ६ हजार ९ सय ८१ संक्रमित थपिएका थिए । गत २ माघमा देशभर कोरोना संक्रमितमध्ये उपत्यकामा ६७.४३ प्रतिशत नयाँ संक्रमित थपिएका थिए । त्यसपछिका दिनको तथ्यांक हेर्दा दैनिक जसो ५० प्रतिशतभन्दा बढी संक्रमित थपिएको देखिन्छ । ३ माघमा ५८.४९ प्रतिशत, ४ माघमा ५४.०९ प्रतिशत, ५ माघमा ५५.१७ प्रतिशत र ६ माघमा ५६.५९ प्रतिशत कोरोना संक्रमित थपिएका छन् ।

कुल सक्रिय संक्रमितमध्ये एक तिहाइ उपत्यकामा

यस्तै, बिहीबार ६ सय ४९ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ८ लाख १८ हजार ८ सय ९ पुगेको छ । त्यस्तै, बिहीबार एकै दिन ४ संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३२ पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस