सवारीसाधन संचालनमा उपत्यकाभित्र कडा नियम, आजदेखी के चलाउन पाइन्छ के चलाउन पाइदैन ?

६ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमा सवारीसाधन चल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने आदेश जारी गरेको हो। यो आदेश भक्तपुर र ललितपुरमा पनि लागू हुने प्रशासनले जनाएको छ।

ललितपुर प्रशासनले पनि काठमाडौं प्रशासनको जस्तै आदेश जारी गरेको छ। आदेश जारी गर्नुअघि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको थियो। संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले बिहीबार यस्तो आदेश जारी गरेको हो।

बैठकपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको जानकारी दिए ।

उनका अनुसार अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुनेछ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका नियम कायमै छन् ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ । होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।

मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश नदिने प्रशासनको आदेशमा उल्लेख छ। आदेश औषधी, स्वास्थ्य सामग्री बोक्ने सवारीसाधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास तथा पेट्रोलियन पदार्य बोकेका साधन, पशुपन्छीका दाना, अण्डा, फलफूल, खाद्यान्न, तरकारी र माछामासु बोकेका साधनबाहेकमा लागू हुनेछ ।

लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरूदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने, यात्रुहरूको विवरण जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउनुपर्ने छ ।

यस्तै, आदेशमा लामो दुरीमा चल्ने यात्रुहरूलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण व्यवस्था मिलाउन भनिएको छ । आदेशमा आमसभा, जुलुस, सभा, भेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जिमखाना, रंगशाला, महोत्सव, स्वीमिङ पुल, हाटबजार लगायत बन्द हुनेछन् ।

शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गराउन पाइने छैन । विश्वविद्यालय, विद्यालयका परीक्षा, भर्नालगायत सबै किसिमका परीक्षा गराउन पाइने छैन ।

प्रतिक्रिया दिनुहोस