काठमाडौंको एक घरमा कोठाभित्र श्रीमान-श्रीमती….

काठमाडौ, १३ माघ । काठमाडौंको शंखरापुर नगरपालिका-३ बोजेनीमा एक दम्पती घरभित्र मृत अवस्थामा भेटिएका छन्। बुधबार राति खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार बुधबार बेलुकी राम्रै तरिकारले सुतेका दम्पती बिहीबार बिहान मृत अवस्थामा भेटिएका थिए। बिहीबार बिहान सात बजेसम्म पनि ढोका नखोलेपछि उनका जेठो छोरा सूर्यबहादुर थिङले बाहिरबाट ढोका फुटाएर हेर्दा दुवैजनाको मृत्यु भइसकेको थिए। त्यसपछि सूर्यबहादुरले प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार अत्यधिक चिसो भएकाले चिसो भगाउन दम्पतीले सुत्ने कोठामा कोइला बालेर सुतेका थिए। ‘ढोका र झ्यालको प्वाल सबै थुनिएको रहेछ, न्यानो हुन्छ भनेर टिनको भाँडामा कोइला बालेर सुतेका रहेछन्,’ उनले भने, ‘निसास्सिएर दुवैजनाको मृत्यु भएको देखिन्छ।’ उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

घटनास्थलमा त्रिवि शिक्षण अस्पतालका डाक्टर पनि गएका थिए। प्रहरी र डाक्टरसहितको टोलीले मुचुल्का उठाएपछि शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। ‘पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण अझ स्पष्ट हुने छ,’ मैनालीले भने।

जाडो मौसममा नुहाउन बाथरुमभित्र मात्रै होइन, कोठा तताउन बालिएको हिटरको कारणले पनि निसास्सिएर मृत्यु हुने गरेको छ। फिजिसियन डाक्टर निमेश पौडेल यस्तो मृत्युमा ग्यास गिजर, हिटर वा कोइला बाल्ने चुलोको मात्रै दोष हुन्न, कोठामा रहने भेन्टिलेसन पनि हो। भेन्टिलेसन वा झ्याल बन्द गर्दा बाहिरी हावा भित्र पस्न पाउँदैन र भित्री हावा बाहिर निस्किन पाउँदैन।

यसरी मृत्यु हुनुको मुख्य कारण भनेको अक्सिजन पर्याप्त नहुनु हो। अक्सिजन कम भएपछि मानिस बेहोस हुन्छन्। तत्कालै थाहा पाएर खुला वा अक्सिजन पर्याप्त भएको ठाउँमा लैजान सके ज्यान जोगिन सक्छ।

प्रतिक्रिया दिनुहोस