यस्तो छ प्रियंका र निकको २ करोड डलर पर्ने यो महङ्गो घर (तस्बिरहरू)

प्रियंका र निकले लामो समयदेखि लसएन्जलसस्थित आफ्नो घर मर्मत र साजसज्जामा विशेष ध्यान दिइरहेका थिए। घरको वातावरण र बनावट शैली पारिवाररमैत्री बनाउने प्रयास भइरहेको पनि टाइम्स अफ इन्डियाले जनाएको छ। आफ्नो सन्तानलाई सहज हुने खालको घर बनाउन उनीहरूले लाखौं खर्चेको पनि बताइएको छ।

यो घर उनीहरूले दुई वर्षअगाडि किनेका हुन्। यो घरको मूल्य २ करोड डलरभन्दा बढी पर्ने बताइएको छ। प्रियंका र निकको यो घर त्यो क्षेत्रको महँगो घरमध्ये पर्छ। यो घरमा सात वटा सुत्ने कोठा, ११ वटा बाथरूम र पर्याप्त खुल्ला स्थान छ।

उनीहरूले यहाँ घर किन्दै परिवार बढाउने योजना बनाइरहेका थिए। त्यसैले घर फराकिलो, खुला र हरियाली भएको होस् भन्ने उनीहरू चाहन्थे। किन्नेबेलामा भनेजस्तो नभएका थुप्रै कुराहरू उनीहरूले पछि थप्दै, बनाउँदै गएका हुन्। यो काममा महिनौं खर्च भएको थियो।

प्रियंका र निकले लामो समयदेखि बच्चा जन्माउने योजना बनाइरहेको पनि इन्डिया टुडेले जनाएको छ। तर कामको व्यस्तताले उनीहरूले यो योजना धकेल्दै आएका थिए। पछि उनीहरूले एक एजेन्सीमार्फत् सरोगेसीबाट बच्चा जन्माउने निधो गरेका हुन्।

उनीहरूले सरोगेसीका लागि साउदर्न क्यालिफोर्नियाकै एक महिलाको सहयोग लिएको पनि इन्डिया टुडेले लेखेको छ। स्रोतका अनुसार ३९ वर्षीया प्रियंकालाई आफैं बच्चा जन्माउन स्वास्थ्यका कारण कुनै समस्या नभए पनि व्यस्तताका कारण उनले सरोगेसी रोजेकी हुन्।

प्रतिक्रिया दिनुहोस