त्रिपुरेश्वरमा रहेको कम्पनिबाट हुुँदो रहेछ यस्तो काम, थाहा पाउने बित्तिकै प्रहरी हुइँकियो

काठमाडौं, माघ १३ – अमेरिकी ब्रान्डको नक्कल गरी कम गुणस्तरको मास्क बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार दिउँसो त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट चार जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

पक्राउ पर्नेमा ललितपुर टीकाथलीका भएका महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ३४ वर्षीय बुद्धिबहादुर कार्की, भारतको राजस्थान घर भई काठमाडौंको भोटेबहाल बस्ने मास्क सप्लायर २० वर्षीय यश अग्रवाल, २० वर्षीय श्रीयान्स लावटी र संखुवासभा घर भई ललितपुर सातदोबाटो बस्ने अनेष्ट सप्लायर्सका म्यानेजर २३ वर्षीय मुक्तिप्रसाद पोखरेल छन्।

काठमाडौं उपत्यकामा विभिन्न स्थानमा अमेरिकी ब्रान्ड थ्रिएम मास्क तथा थ्रिएम हेल्थकेयर युएसको नक्कल गरी कम गुणस्तरका मास्क वितरण गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

सो सूचनाको आधारमा खटिएको टोलीले त्रिपुरेश्‍वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्समा चेक गरेको थियो। महालक्ष्मी इशान इन्टरप्राइजेजबाट प्रहरीले २१ कार्टुनमा ३०२४ थान मास्क र ६५ वटा मास्कका बट्टाबाट ११७० थान मास्क बरामद गरेको छ।

त्यस्तै, अनेष्ट सप्लायर्सबाट ८ वटा कार्टुनबाट १९२० वटा मास्क बरामद गरेको हो। अमेरिकी ब्रान्डको नक्कल गरी उस्तै देखिने गरी कम गुणस्तरको मास्कसहित चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाएको छ।

त्यहाँबाट थप अनुसन्धान गरी कारबाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल, काठमाडौं पठाएको परिसरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस