नयाँ भेटिएको भाइरस ‘नियोकोभ’ मानिसका लागि कति खतरनाक ? डब्लुएचओले के भन्छ ?

काठमाडौं। विश्व स्वास्थ्य संगठनले नयाँ पत्ता लागेको कोरोनाभाइरस ‘नियोकोभ’को बारेमा अझै थप अध्ययन गरिनु आवश्यक रहेको बताएको छ । चीनका वैज्ञानिकहरुले दक्षिण अफ्रिकाका चमेरामा एक नयाँ कोरोनाभाइरस ‘नियोकोभ’ पत्ता लगाएका थिए । अहिले यो भाइरस केवल जनावरहरुबीच तीब्र रुपमा फैलिइरहेको छ ।

एक अध्ययनमा शोधकर्ताहरुले यो भाइरस भविष्यमा मानिसको लागि खतरनाक साबित हुन सक्ने बताउका छन् । कोरोनाभाइरस अलग अलग किसिमका भाइरसको समूहका एक हिस्सा हुन् जसले सामान्य रुघाखोकीदेखि लिएर गम्भीर श्वास सम्बन्धी समस्या उत्पन्न गराउँछन् । विश्वस स्वास्थ्य संगठनका अनुसार ऊसँग यस सम्बन्धमा जानकारी छ तर यो भाइरस मानिसको लागि खतरनाक छ वा छैन भन्ने थाहा पाउन भने थप अध्ययनको आवश्यकता छ ।

डब्लुएचओले भनेको छ ‘मानिसमा फैलिएका सबै संक्रामक रोगमध्ये ७५ प्रतिशत भन्दा धेरैको स्रोत जनावर हुन् । खासगरी जंगली जनावर यसको ठूलो स्रोत हुन् । कोरोनाभाइरस प्रायः जनावरमा पाइन्छ । यीमध्ये चमेरा पनि हुन् जसमा कैयौं भाइरसको प्राकृतिक भण्डार भेटिन्छ ।’ डब्लुएचओले यो जानकारी साझा गरेकोमा चिनियाँ शोधकताृहरुलाई धन्यवाद पनि दिएको छ ।

अध्ययनका अनुसार नियोकोभ कोभिड १९ भाइरसजस्तै मानव कोशिकासँग जोडिन सक्छ । ‘नियोकोभमा केवल एउटा अर्को म्युटेशनपछि यो मानिसको लागि खतरनाक बन्न सक्छ’ शोधकर्ताले भनेका छन् । यो अध्ययनको समीक्षा गर्न भने अझै बाँकी छ । शोधकर्ताहरुका अनुसार यो भाइरस मिडिल इस्ट रेस्पाइरेट्री सिन्ड्रोम (मर्स)सँग मेल खान्छ । मर्स नामको यो भाइरल रोग सबैभन्दा पहिले साउदी अरबमा पाइएको थियो ।

मर्सको मृत्युदर अत्यन्तै धेरै छ । यसको संक्रमणपछि हरेक ३ जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन्छ । अहिले फैलिइरहेको सार्स कोभ–२ (कोभिड–१९) भाइरस धेरै संक्रामक छ । मर्स कोभ भाइरस र सार्स कोभ २ (कोभिड–१९) भाइरसका लक्षण मिल्दाजुल्दा छन् । मर्स हुँदा पनि ज्वरो आउने, खोकी र सास फेर्न समस्या हुन्छ । यो रोग २०१२ मा सबैभन्दा पहिले साउदी अरेबियामा भेटिएको थियो । २०१२ देखि २०१५ को बीचमा मध्यपूर्वका देशमा यसको प्रकोप थियो ।

मर्स कोभका धेरैजसो केसमा यो मानिसबाट मानिसमा फैलिएको थियो । यसका कारण कैयौं मानिसको ज्यान गएको थियो । शोधकर्ताहरुले पहिलेको मर्स कोभ र अहिले फैलिइरहेको सार्स कोभ २ (कोभिड–१९) को खोपबाट प्राप्त प्रतिरक्षा शक्तिले नियोकोभमा असर नगर्ने पनि बताएका छन् । शोधकर्ताहरुका अनुसार सार्स कोभिड १९ मा धेरै म्युटेशन र अत्याधिक म्युटेशन वाला ओमिक्रोन भेरिएन्टलाई हेर्दा नियोकोभले एन्टिबडी अनुकूलनको माध्यमबाट मानिसलाई संक्रमित गर्न सक्ने क्षमता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस