अब मेसेन्जरमा गोप्य च्याट गर्दा स्क्रिनसट लिएको थाहा पाइने

फेसबुक (मेटा)का प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुक मेसेन्जरको गोपनीयतासम्बन्धी नयाँ फिचर सार्वजनिक गरेका छन्। सिइओ जुकरबर्गले मेसेन्जरको ‘सिक्रेट मेसेज’ भन्ने फिचरमा थप सुधार गरेको बताएका हुन्।

स्ल्यासगियरका अनुसार जुकर्बगले बिहिबार आफ्नो आधिकारिक फेसबुकमा नयाँ फिचरबारे पोस्टमा लेखेका छन्, ‘अब मेसेन्जरको सिक्रेट च्याटमा च्याट गरिरहँदा प्रयोगकर्ताले स्क्रिनसट लिएको थाहा हुने फिचर समावेश गरिएको छ। त्यस्तै, अब यसमा च्याट गर्दा जिआइएफ, स्टिकर र अरू रियाक्सनहरू पनि गर्न मिल्नेछ। ‘

फेसबुकले आफ्नो सिक्रेट च्याट फिचर सन् २०२० को नभेम्बरमा मेसेन्जर र इन्स्टाग्राममा सार्वजनिक गरेको थियो। उक्त फिचरले प्रयोगकर्ताको गोपनीयताको ख्याल राख्ने फेसबुकले जनाएको थियो।

यसभन्दा अघि फेसबुक मेसेन्जरमा गोप्य रुपमा पठाइएको मेसेजको स्क्रिनसट लिदाँ एक-अर्कालाई थाहा हुँदैन थियो। तर नयाँ फिचरले भने स्क्रिनसट लिएको नोटिफिकेसन डिस्प्ले हुनेछ। इन्सटाग्राममा भने यो फिचर केही समय अघिदेखि नै थियो। यसमा जोसँग च्याट गरिँदै छ, उसले स्क्रिनसट लियो भने स्क्रिनमा नोटिफिकेसन नै डिस्प्ले हुन्छ।

त्यस्तै, पहिले सिक्रेट च्याटमा च्याट गर्दा प्रयोगकर्ताहरूले मेसेजमा कुनै रियाक्ट गर्न मिल्दैन थियो र कुनै जिआइएफ अथवा स्टिकर पनि पठाउन मिल्दैन थियो। तर नयाँ विशेषताले यो सुविधा पनि थपेको छ। साथै, अब सिक्रेट च्याटमा पठाइएको फोटो अथवा भिडिओहरू पनि सेभ गर्न सकिने फिचर थपिदैछ।

मेसेन्जरमा यसरी पठाउन सकिन्छ गोप्य मेसेजः

सुरूमा मेसेन्जर लग इन गर्ने। मेसेन्जर लग इन हुने बित्तिकै त्यहाँ आफ्नो च्याट सूची देख्न सक्छौं। अब तपाईं जोसँग च्याट गर्न चाहनुहुन्छ ती व्यक्ति छान्नुपर्ने हुन्छ। र ती व्यक्तिसँगको च्याट बक्समा जानुपर्छ।

त्यसपछि स्क्रिनको दायाँपट्टी माथिल्लो भागमा फोन कल, भिडिओ कललगायत अप्सनहरू देखिन्छ। सबैभन्दा कुनामा रहेको ‘आई’ जस्तो आइकन थिच्नुपर्छ। यहाँ ‘गो टु सिक्रेट कन्भर्सेसन’ भन्ने अप्सन देखिन्छ। त्यो अप्सन थिचेपछि अब सिक्रेट च्याट गर्न सकिन्छ।

सन्देश गोप्य राख्न पठाएको केही बेरमा आफैं हट्ने सुविधा छ। यसका लागि कति समयमा हराउने भनेर टाइमर सेट गर्नुपर्छ । यो समय ५ सेकेन्डदेखि २४ घण्टासम्म राख्न सकिन्छ। यसरी समय राखेपछि, मेसेज सिन भएपछि त्यो समयभित्र मेसेज आफैं हट्छ। यसका लागि मेसेज पठाउने र पाउने दुवैले टाइमर सेट गर्नुपर्छ।

टाइमर सेट गर्न बिर्सए पनि केही छैन। त्यो सिक्रेट च्याट लिस्टमा बसिरहन्छ। पछि डिलिट च्याट गर्न सकिन्छ। सिक्रेट च्याटमा तपाईंले पठाएको मेसेज पाउनेले नहेरेसम्म डिलिट हुँदैन।

प्रतिक्रिया दिनुहोस