आमा अब तपाईंको छोरो प्लेनमा होइन, बाकसमा आउँछ!

साँझपख उसको मोबाइलमा रिङटोन बज्छ, हतारमा फोन उठाउँछ सुखीलाल। उताबाट मेनपावर कम्पनीको हाकिमले उत्साहित हुँदै भन्छ- सुखीलाल तिम्रो भिसा लाग्यो, अबको हप्ताभित्र तिमी उड्ने तयारी गर।

ऊ खुसी र दुखी एकैपटक हुन्छ। बुढा रोगी बा अनि रोगले थलिएकी आमा सम्झेर।

फेरि मन बुझाउँछ पैसा कमाएर सुखी बनाउँछु, उपचार गर्न लैजान्छु, एउटा राम्रो घर बनाउँछु, एउटी बुहारी भित्र्याउँछु अनि आफू काम गरेर परिवार पाल्छु। सुखीलालका सपना धेरै टाढासम्मका भने थिएनन्, उसलाई कसैसँग प्रतिस्पर्धा गर्नु पनि थिएन अनि कसैलाई होच्याउनु, थिचोमिचो गर्नु पनि थिएन। उसको सानो सपना थियो, सुखी घर सुखी परिवार।

ऊ त्यहीँ सपना पूरा गर्न अर्को हप्ता साउदीको चर्को घाममा पुग्नेवाला थियो। कतै खुसी कतै बेखुसी भएर ऊ अगेनाको छेउमा बसेकी आमालाई भन्छ, ‘अर्को हप्ता म विदेशका लागि उड्नुपर्ने भयो। आफ्नो राम्रोसँग ख्याल गर्नु, बाको पनि हेरचाह गर्नु।’

उसको कुरा सुन्ने बित्तिकै मुजामुजा परिसकेका आमाका आँखाबाट बररर आँसु झर्छन्। नजा पनि भन्न सक्दिनन् अनि जा पनि।

उसका बा कान खासै सुन्दैनन्, कतिपय बेला सुद्धि हराएको जस्तो कुरा पनि गर्छन्। तिनै दुई अशक्त बनिसकेका बाआमालाई सुख दिन ऊ विदेशिन बाध्य भएको हो।

तराईको गर्मी ठाउँ, ठूलाबडाहरू धेरै बस्ने उसको गाउँ, त्यहीँ गाउँको अलिक पर छ उसको सानो झुपडी। त्यो पनि उसका बाले जीवनभर काठमाडौँमा दुनियाँका जुत्ता पोलिस गरेर जोडेको सम्पत्ति रे।

त्यहीँ सानो झुप्रो पनि केही दिनदेखि झनै बेखुसी देखिएको छ। सधैं अभाव, पीडा, तिरस्कार र अपमान सहेर बसेका उसका बा र उसकी आमा सुखीलालबाहिर जाने भनेदेखि न निदाउन सकेका छन् न आँखा ओभाना नै भएका छन्।

उ जाने भनेको अघिल्लो रात। वर्षातको महिना भएको हुँदा बाहिर पानी जोडले दर्किएको थियो, असिना परेको थियो र बेजोडले चलेको हावाले उसको सानो झुप्रो नै उडाउँछ कि भन्ने आभाष भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस