पाकिस्तानबाट नेपाल हुँदै नक्कली नोट आएको भारतको दावी, करोडौ रकम बजारमा फिजाइयो

भारतले पाकिस्तानबाट खाडी मुलुक, नेपाल र बंगलादेश हुँदै भारतमा नक्कली नोट जाने गरेको आरोप लगाएको हो ।दिल्ली प्रहरीको विशेष सेलले नक्कली नोट आपूर्ति गर्ने एक तस्करलाई पक्राउ गरेपछि यस्तो दावा गरेको हो ।

आरोपीले विगत चार वर्षमा दिल्लीको बजारमा भारु एक करोड रुपैयाँभन्दा बढी नक्कली नोट खर्च गरेको बयान दिएका छन् । अभियुक्तको साथबाट भारु २ लाख ९८ हजार नक्कली नोट बरामद भएको छ ।

सबै नक्कली नोट ५ सयका हुन् । स्पेशल सेलका डिसीपी (दक्षिणी रेन्ज) जसमित सिंहका अनुसार सेलमा तैनाथ प्रहरी निरिक्षक ईश्वर सिंहलाई नेपाल–भारत सीमा नाकाबाट नक्कली नोट आइरहेको गोप्य सूचना मिलेको थियो ।

मोतिहारी बिहारको रक्सौल हुँदै भारतमा नक्कली नोट आउने गरेको सूचना आएको जानकारी दिइएको छ । करिब दुई महिनाको मेहनतपछि गत जनवरी ७ तारिखमा नक्कली नोट आपूर्ति गर्ने बिहारको पूर्वी चम्पारण निवासी रइसुल आजम नक्कली नोटको खेप लिएर इन्द्रप्रस्थ पार्क आउने गरेको सूचना मिल्यो ।

एसीपी अत्तर सिंहको रेखदेखमा प्रहरी निरिक्षक ईश्वर सिंह, एसआई रञ्जित सिंह र एसआई सञ्जीव कुमारको टोलीले इन्द्रप्रस्थ पार्क नजिकै घेराबन्दी गरेर आरोपी ४२ वर्षीय रइसुल आजमलाई पक्राउ गरेको हो ।

त्यसपछि अभियुक्तको झोलाबाट भारु २ लाख ९८ हजार रुपैयाँका नक्कली नोट बरामद भएको हो । रइसुल आजमले सोधपुछका क्रममा नेपाली नागरिक सुरेशबाट बरामद तीन लाखको नक्कली नोटको खेप लिएको खुलासा गरेका छन् ।

उनी सो सामान आपूर्ति गर्न दिल्ली पुगेका थिए । उनले १४–१५ वर्षदेखि भारतका विभिन्न भागमा नक्कली नोट आपूर्ति गर्दै आएको पनि स्विकार गरेका हुन् । प्रहरीलाई दिएको बयानमा उनले एक लाखको नक्कली नोट ३० हजारमा किनेर ५० देखि ५५ हजारमा बेच्ने गरेको उल्लेख गरेका छन् ।

नोटबन्दीपछि करिब चार वर्षको अवधिमा उनले दिल्लीमा १ करोडभन्दा बढी मूल्यका नक्कली नोटहरू आपूर्ति गरेको छ । उनलाई जिआरपी सिभोल बिहारले सन् २००८ मा साझेदार नूर निशासहित २.५ लाखको नक्कली नोटसहित पक्राउ गरेको थियो ।

उनले जेलबाट बाहिर आएपछि फेरि नक्कली नोट आपूर्ति गर्न थालेका हुन् । कोलकाता प्रहरीले सन् २०११ मा उनका साथी मुश्ताकलाई १६ लाख रुपैयाँको नक्कली नोटसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस