खोप अनिवार्य गरिएपछि क्यानडामा ट्रक चालकको आन्दोलन, दोस्रो दिन पनि राजधानी ठप्प

एजेन्सी । अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि क्यानडामा आन्दोलन चर्किएको छ । उक्त निर्णयको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी शहर आइतबार दोस्रो दिन पनि ठप्प भएको छ ।

प्रदर्शनमा उत्रिएका ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकहरू ट्रक राखेर पूरै अवरुद्ध पारेका छन् । केही प्रदर्शनकारीहरूले भने एउटा रेस्टुरेन्टका कर्मचारीहरूलाई सित्तैमा खानेकुरा माग गर्दै दुर्व्यवहार समेत गरेको ओटावाका मेयर जिम वाट्सनले बताएका छन् । वाट्सनका अनुसार उक्त रेस्टुरेन्टले प्रदर्शनकारीहरुलाई भित्र बस्दा मास्क लगाउनुपर्ने नियम मान्न आग्रह गरेको थियो तर प्रदर्शनकारीहरुले अटेर गर्दै दुर्व्यवहार गरेका थिए ।

राजधानी शहर ओटावामा ‘फ्रिडम कन्भोई’ नाम दिइएको उक्त प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएको बताइएको छ । उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको लगायतका भिडिओ फुटेजबारे प्रहरीले अनुसन्धान थालेको बिबिसीले जनाएको छ ।

त्यस्ता हर्कतलाई क्यानडाकी रक्षामन्त्री अनिता आनन्दले ज्यादै निन्दनीय रहेको बताएकी छन् । ओटावा प्रहरीले एक ट्वीट गर्दै राजधानी सहरका स्मारकहरूलाई ‘अपवित्र’ पारिने ती हर्कत र सुरक्षाकर्मीलाई दिइएको धम्कीको विषयमा अनुसन्धान थालेको जनाएको छ ।

प्रदर्शन चर्किएपछि सुरक्षा चिन्ताका कारण त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले परिवारका साथ शनिबार नै ओटावास्थित आफ्नो घर छाडेका छन् ।

हाल क्यानडाका १ लाख २० हजार सीमा वारपार गर्ने ट्रक ड्राइभरमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन् । सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा उक्त प्रदर्शन सुरु भएको भए तापनि प्रदर्शनमा अन्य मागहरू पनि थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस