भिजिट भिसामा अलपत्र परेका नेपालीको हाल बुझ्न जादा युट्युबरलाई रामधुलाई !

काठमाडौँको सामाखुसी स्थित ट्रिपल स्टार मेनपावरमा गएका युट्युबरलाई मेनपावर सञ्चालक र उनका समर्थकले निर्घात कुटेका छन् ।विवादको क्रममा हात हालाहाल हुँदा ३ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

वैदेशिक रोजगार सम्बन्धी विषयमा विवाद हुँदा मेनपावर सञ्चालक र समर्थक युट्युबरमाथि जाइलागेका थिए । कुटपिटबाट मेचिङ नेपाल च्यानलमा कार्यरत ३४ वर्षीय दिपेश राज पाण्डे, ४२ वर्षीय हरि प्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी घाइते भएका छन् ।

मंगलबार दिउँसो मेनपावरबाट पीडित भएकाहरूको साथमा युट्युबरहरु टोखा नगरपालिका–१४ स्थित मेनपावरको कार्यालयमा पुगेका थिए । घाइतेहरूको बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे कसैले उजुरी नगरेको र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए । मेनपावरका पदाधिकारी र युट्युबरको बिचमा एक आपसमा विवाद हुँदा हात हालाहाल भएको थियो ।

प्रतिक्रिया दिनुहोस