नाइजेरियाका नौ वर्षे मोहम्मद मुस्तफा, जो हुन् संसारकै कान्छा अर्बपति

नाइजेरियाका मोहम्मद अवाल मुस्तफा भर्खर नौ वर्षका भए। उनलाई नाइजेरियामा संसारकै कान्छा अर्बपति भनेर चिनिन्छ। सामाजिक सञ्जालका सेलिब्रिटी मुस्तफालाई धेरैले मोम्फा जुनियर भन्छन्। मोम्फा आफ्नै निजी हवाईजहाजमा संसार घुम्छन्। उनीसँग थुप्रै बंगला र सुपरकारहरू पनि छन्।

इन्स्टाग्राममा उनका ३९ हजार ४ सय जना फलोअर्स छन् भने उनले त्यसमा जम्मा ६ वटा फोटो हालेका छन्। ती फोटो उनले विभिन्न ब्रान्डका गाडी, महँगा कपडा र हवाईजहाजमा बसेर खिचाएका हुन्।

उनी सानो उमेरमै धनी हुनुको कारण उनका बुबा हुन् जसका लागि उनी सधैं आभारी रहने बताउँछन्। सन् २०१९ मा मोम्फा जुनियर ६ वर्षको हुँदा उनलाई उनका बुबा इस्माइलिया मुस्ताफाले बंगला उपहार दिएका थिए। उनका बुबाले सामाजिक सञ्जालमा आफ्ना छोरालाई बंगला उपहार दिएको उल्लेख गरेका छन्। उनको दुबई, लाओस र युएईमा घरहरू छन्।

‘बधाई छ छोरा नयाँ घरका लागि। तिम्रो जन्मदिनको उपहार बुबाका तर्फबाट,’ उनले लेखेका छन्। एउटा इन्स्टाग्राम पोस्टमा मोम्फा जुनियर र उनकी सानी बहिनी फतिमा दुवैले भर्साचे क्लोथिङ ब्रान्डको कपडा लगाएको देखिन्छ। यसले उनीहरूको दैनिक जीवनको झलक दिन्छ।

द मिररका अनुसार मोम्फा जुनियरका बुबा मुस्ताफा गत महिना पक्राउ परे। उनीमाथि आफ्नो कम्पनी इमालोब ग्लोबल इन्भेस्टमेन्ट लिमिटेडबाट ७ करोड ९० लाख डलर ठगेको आरोप छ। उनीमाथि साइबर अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दासमेत छ। अदालतले मुस्तफालाई हिरासतमा राख्न आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस