साउदी अरबको ऐतिहासिक निर्णय, महिलाहरुको रुप देख्दा दुनियाँ चकित (तस्वीरहरु)

काठमाडौं। साउदी अरेबियाले महिलाहरुप्रतिको आफ्नो रुढीवादी सोचलाई बदल्दैछ । अब उसले महिलाहरुलाई ऊँटहरुको लागि आयोजित एक प्रतियोगितामा भाग लिन अनुमति दिएको छ । ऊँटहरुको सौन्दर्य प्रतियोगिता ‘शिप्स अफ द डेजर्ट’मा इतिहासमै पहिलो पटक साउदीमा महिलाहरुले ऊँटमा चढेर परेड गरे । ऊँटको यो सौन्दर्य प्रतियोगिता किंग अब्देलअजीज फेस्टिभलको एक हिस्सा थियो जसमा यसअघि केवल पुरुषहरु मात्र सहभागी हुन्थे । साउदी अरेबियाको राजधानी रियादबाट उत्तरपूर्व रुमा मरुभूमिमा आयोजित यो प्रतियोगिताको हिस्सा बनेर महिलाहरु निकै खुसी छन् ।

२७ वर्षकी लामिया अल रशीदीले समाचार एजेन्सी एएफपीसँग भनिन् ‘म आशा गर्छु कि इंशाअल्लाह हामीले समाजमा प्रतिष्ठा निश्चय पाउनेछौं ।’ रशीदीको परिवारमा ४० ऊँट छन् र उनी ऊँटहरुको बीचमै हुर्किएकी हुन् । प्रतियोगितामा भाग लिनको लागि उनले आफ्नो अनुहारलाई कालो स्कार्फले पूरै ढाकेकी थिइन् । काँधमा रंगीबिरंगी शल झण्ड्याएकी थिइन् । उनले एएफपीसँग भनिन् ‘जब म सानी थिएँ त्यतिबेलादेखि नै मेरो ऊँटमा रुची छ । जब यो प्रतियोगितामा महिलाहरुले भाग लिन पाउने घोषणा गरियो, मैले यसमा भाग लिने निश्चय गरें ।’

महिलाहरुको प्रतियोगितामा ४० जना महिला प्रतियोगीहरुले भाग लिए र टप ५ जना महिलाहरुलाई १ मिलियन रियाल (३ करोड १५ लाख रुपैयाँ) पुरस्कार दिइयो । यो प्रतियोगितामा भाग लिने ऊँटहरुको सुन्दरतालाई कैयौं मापदण्डमा मूल्यांकन गरिन्छ । ओठ, घाँटी र पिठ्युँमा हुने डल्लोको आकारलाई मुख्य रुपमा हेरिन्छ । डिसेम्बरमा कैयौं प्रतियोगीहरुलाई यो प्रतियोगिताको लागि अयोग्उ घोषित गरिएको थियो किनकि उनीहरुको ऊँटलाई प्रतिबन्धित बोटोक्स इन्जेक्सन लगाइएको थियो । यो इन्जेक्सन अनुहारको चाउरी कम गर्नको लागि प्रयोग गरिन्छ ।

यो समारोहमा एक समय त यस्तो समेत आयो कि रातो बालुवामा घोडामा चढेका कालो कपडा लगाएर परेड गरिरहेका महिलाहरु ऊँटमाथि सेतो कपडा लगाएर सवार पुरुषहरुभन्दा अगाडि गए । खासमा तरवार लिएका पुरुषहरु ढोलकको थापमा नाच्न लागे जसका कारण उनीहरु पछि छुटे र महिलाहरु अगाडि पुगे । तेलको धनी यो खाडी देश इस्लामका नियमको कडाइका साथ पालन गर्छ । तर, २०१७ मा क्राउन प्रिन्स मोहम्मद बिन सलमान सत्तामा आएपछि व्यापक सुधार गरिएका छन् र महिलाहरुमाथि लगाइएका कैयौं प्रतिबन्धहरु हटाइएका छन् ।

प्रतिक्रिया दिनुहोस