दु र्घटनाको जोखिममा घरजग्गा कारोबार, प्लटिङ गर्नेदेखि एजेण्ट सम्मको उठिबासको संकेत

अहिले सबैभन्दा चर्चा हुने क्षेत्र भनेको शेयर बजार र घरजग्गा कारोबार हो । सबैतिर कि शेयर बजारका सुनिन्छन् भने कि घरजग्गा कारोबारका गफ सुनिन्छन् ।आर्थिक मन्दीको अहिलेको अवस्थाले घरजग्गा कारोबार सहज छैन भन्ने देखाएको छ । कारोबार नै सुस्त देखिएको छ । वित्तीय क्षेत्रमा तरलता अभावका कारण खरीदकर्ताहरुसँग पैसा नहुँदा कारोबार सुस्ताएको हो ।

दुर्घटनाको जोखिममा घरजग्गा कारोबार
नेपालको घरजग्गा व्यवसाय तथा कारोबारको क्षेत्र औपचारिक भईसकेको छैन । यसकारण यो क्षेत्र जोखिममा पर्न सक्छ भनेर अर्थ मन्त्रालय, राष्ट्र बैंक लगायतले चेतावनी दिने बाहेक अर्को विकल्प सुझाउन पनि सक्ने अवस्था छैन ।

असोज पछिको कारोबारले घरजग्गा कारोबार तत्कालै लयमा फर्किने अवस्था देखिएको छैन । पौष महिनाको कारोबारले त झन घरजग्गाको मन्दी अझै केही समय लम्बिन सक्ने देखाएको छ।विप्रेषण आप्रवाह (रेमिट्यान्स) बाट अर्थतन्त्रको चेन घुम्ने नेपालमा अहिले रेमिट्यान्स घट्दो छ । रेमिट्यान्स घट्दो र महँगी बढ्दो छ । महँगी बढेका कारण विदेशबाट पठाएको रकम केवल घर खर्चमै खुम्चिँदा आफन्त विदेशमा भएकाहरुले घरजग्गा जोड्न सकेका छैनन् ।

अहिले राष्ट्र बैंकले घरजग्गा कारोबारको इन्डेक्सको अध्ययन गरिरहेको छ । स्रोतका अनुसार राष्ट्र बैंकको अब प्रकाशित हुने अध्ययनले नाफा कमाउन बैंक तथा वित्तीय संस्थाबाट मोटो रकम ऋण लिएर घरजग्गामा लगानी गरेकाहरुको लगानी कुनैपनि बेला डुब्न सक्ने देखाउने छ ।

‘घरजग्गाको मूल्य जति बढ्नुपर्ने हो, करिब करिब बढिसक्यो, नाफाक कमाउन करोडौ ऋण लिएर जग्गामा लगानी गरेकाहरुको लगानी फस्ने मात्रै होइन, डुब्ने हुने संकेत देखिएका छन्’ राष्ट्र बैंक स्रोत भन्छ, ‘यो १ दशकमा भएको घरजग्गाको मूल्य वृद्धिलाई प्राकृतिक मान्न सकिन्न, घरजग्गाको मूल्य वृद्धिको अन्तिम बिन्दु टाढा छैन भन्ने नै देखिएको छ, त्यसकारण यो क्षेत्र दुर्घटनाकै जोखिममा छ ।’

कारण के ?
घरजग्गा कारोबार संकटको नजिक पुग्नुका पछाडी केही कारण छन् । पहिलो कारण भनेको ‘खरिद क्षमतामा आएको ह्रास’ हो। आम्दानीले घर खर्च मात्रै चल्ने र जग्गाजमिन खरिद गर्न बैंकबाट ऋण पाउन सकिने अवस्था नभएकाले अहिले खरिद क्षमतामा ह्रास आएको छ । जसका कारण राष्ट्र बैंकले यो क्षेत्रमा समस्या देखिरहेको।

दोस्रो कारण भनेको कारोबारीहरुले सरकारी हस्तक्षेपको संकेत देखेका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणले अनुमति नलिई प्लटिङ गरिएका हजारौ प्लट जग्गा किनबेचमा रोक लगाउने तयारी गरेको छ । उपत्यकामा अनुमति लिएर प्लटिङ गरेका व्यवसायीले पनि अनिवार्य रुपमा होडिङ बोर्ड राख्नुपर्ने व्यवस्था हुँदैछ ।

यदि कसैले अनुमति नलिई प्लटिङ गरेको छ भने उसको नाम, ठेगाना सार्वजनिक गरेर त्यस्तो जग्गाको खरिद बिक्रिमा रोक लगाउन सक्ने संकेत प्राधिकरणले गरिसकेको छ । भूमि व्यवस्था मन्त्रालयले पनि जग्गाको वैज्ञानिक मूल्य निर्धारण गर्ने र सबै तिर एउटै मूल्यांकन लागू गर्ने योजना अघि बढाईसकेको छ । अर्कोतर्फ, भू–उपयोग नियमावली स्वीकृत भएपछि जहाँ पायो, जुन पायो त्यहीँ जमिनमा घर बनाउन पाइने छैन ।
अर्को कारण भनेको अप्राकृतिक मूल्य वृद्धि नै हो । मूल्य वृद्धिका कारण घरजग्गा किन्न चाहनेले पनि किन्न सकिरहेको छैन।

प्रतिक्रिया दिनुहोस